• २०८३ असार १४
  • 2026 June 28, Sunday

संसद वैठकको जारी गतिरोध अन्त्यका लागि शीर्ष तीन दलको बैठक वालुवाटारमा जारी

काठमाडौं । प्रतिनिधिसभाको जारी गतिरोध अन्त्य गर्नका लागि प्रमुख दलका शीर्ष नेताहरूसँग बालुवाटारमा छलफल सुरु भएको छ ।

सोमबार सभामुखको नेतृत्वमा छुट्टाछुट्टै शीर्ष तीन दलका नेतासहित बसेको दुबै बैठक निर्णयमा पुग्न नसक्दा आज पुनः १० बजेको लागि बोलाईएको बैठक डेढ घण्टा ढिलो गरी सुरु भएको हो । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सुरु भएको बैठकमा संसदको अवरोध खुलाउने बारेमा नै छलफल केन्द्रित रहेको एमाले सचेतक महेश बर्ताैलाले जानकारी दिए ।

सुन प्रकरणमा संसदीय छानबिन समिति बनाउने विषयमा एमालेको अडानका कारण हिजो सिंहदरबार र बानेश्वरमा भएका दुवै छलफल निष्कर्षविहीन बनेको थियो ।

मंगलबार जारी बैठकमा संसदको गतिरोध अन्त्यको लागि थप छलफल मार्फत संसद सुचारु गर्ने सरकारको तयारी अनुसार दिउँसो ३ बजेको लागि बोलाईएको प्रतिनिधिसभा बैठक बस्नु अघि प्रमुख दलबीच सहमति जुटाउने प्रयास स्वरूप उक्त बैठक डाकिएको हो ।