• २०८३ असार १४
  • 2026 June 28, Sunday

अधिवक्ता भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ : प्रधानमन्त्री प्रचण्ड

अत्यधिक बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाही हुने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डेले तामाङलगायतका संस्कारमाथि दिएको अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको बताएका छन् । बुधबार आदिवासी जनजातिले काठमाडौँमा गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले उनी दोषी देखिए कारबाही हुने बताएका हुन् ।

‘तामाङ समुदायको संस्कारलाई आँच पुग्ने गरी भगवती पाण्डेले दिएको भन्ने अभिव्यक्तिप्रति सरकारको गम्भीर ध्यानाकर्षण भएको छ । यस विषयमा आज बिहानमात्र मैले प्रहरीका उच्च अधिकारीसँग छलफल गरेको छु’, उनले भने, ‘दोषी देखिएमा कारबाही हुन्छ । आन्दोलनका क्रममा प्रहरीले बल प्रयोग गरी केही व्यक्तिहरू गम्भीर घाइते भएको विवरण आएका छ । अत्यधिक बल प्रयोग गर्ने प्रहरीमाथि पनि कारबाही हुने कुरा तपाईंहरूलाई जानकारी गराउँछु ।’

आफू पहिलेदेखि नै पहिचानवादीहरूले गरेको आन्दोलनको पक्षमा रहेको विश्वास दिलाउँदै २०८४ को निर्वाचनमा अत्यधिक मतले जिताए सम्पूर्ण माग सम्बोधन गर्ने प्रचण्डले बताएका छन् ।

नेपालको आदिवासी जनजातिको भाषा, दर्शन, साहित्यलाई विकास गर्ने काममा सरकार प्रतिबद्ध रहेको भन्दै उनले यसको संरक्षणका लागि सरकारले पहिलेको भन्दा बढी बजेटको व्यवस्था गर्ने प्रतिबद्धता जनाए ।