कार्म र मेनुकाको फिल्म ‘महानगर’ को ट्रेलर (भिडिओ)

काठमाडौं । मोहन राईले निर्देशन गरेको फिल्म ‘महानगर’ (वान नाइट इन काठमाडौं) को ट्रेलर सार्वजनिक भएको छ ।

बुधबार ओएसआर डिजिटल युट्युब च्यानलमार्फत फिल्मको ट्रेलर सार्वजनिक गरिएको हो । कार्म र मेनुका प्रधान वरिपरि घुमेको ट्रेलरले महानगरको सपना र यथार्थलाई प्रस्तुत गरेको छ ।

एक साँझ दुई अपरिचित व्यक्तिको अचानक हुने भेट र त्यसपछिको घटनाक्रमको कथालाई फिल्ममा देखाइएको छ ।

सन् २०२१ मा कोलकता अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा विश्व प्रिमियर भएको यस फिल्मले निफमा राष्ट्रिय फिल्मको क्याटगोरीमा उत्कृष्ट फिल्म, उत्कृष्ट पटकथा, अभिनय तथा निर्देशनको अवार्ड प्राप्त गरेको थियो भने नेपाल अमेरिका अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा नेपाली पानोरामअन्तर्गत अनरेवल मेन्सन प्राप्त गरेको थियो ।

माउन्टेन रिभर फिल्म्स तथा गो विन प्रोडक्सनसँगको सहकार्यमा मिडल वे फिल्म्सले निर्माण गरेको ‘महानगर’ को लेखन निर्देशन राईले नै गरेका हुन् ।

नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई परीक्षित झाले सम्पादन गरेका छन् । फिल्ममा किशोर आर्चायको ध्वनि सम्पादन तथा पुष्पा संगमको संगीत रहेको छ ।

फिल्मको कार्यकारी निर्माता गोविन्द पराजुली हुन् भने नवनिधि दाहाल क्रिएटिभ प्रोड्युसर हुन् ।

यो फिल्म भदौ ८ गतेदेखि प्रदर्शन हुनेछ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१