• २०८३ असार १४
  • 2026 June 28, Sunday

विद्यार्थीका लागि पार्टी मुख्यालयमा सुझाव पेटिका राख्दै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी कार्यालयमा विद्यार्थीहरुको लागि सुझाव पेटिका राख्ने बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत पार्टी कार्यालयमा घुम्न आउने विद्यार्थीहरुलाई पार्टीको बारेमा जानकारी मात्र दिने नभई सुझावपनि लिने उल्लेख गरेका छन् ।

उनले फेसबुकमा लेखेका छन् ‘ हाम्रो पार्टी कार्यालयमा विद्यार्थी भाइबहिनीहरुलाई पार्टीको बारेमा जानकारी मात्र दिने होइन कि सुझाव पनि लिने भनेर सुझाव पेटिका राख्नु भनेको छु । जुन सुझावहरु म आफैं पनि पढ्ने छु र सोही अनुरुप चल्ने प्रयास हामी गर्ने छौं ।’

यस्तै उनले विद्यालयले विद्यार्थीलाई पार्टी कार्यालयमा घुमाउने प्रथाको सुरुवात गरेकोमा खुसी व्यक्त गरे । उनले पार्टीको बारेमा जनाकारी लिने चलन सुरु भएकाले विद्यार्थीलाई राजनीतिमा लाग्न प्रेरित गर्ने बताएका छन् ।

‘आजभोलि विद्यालयहरुले विद्यार्थीहरुलाई राजनीतिक दलका कार्यालय घुमाउने र केही जानकारी लिने चलन सुरु गरेका रहेछन् । यो राम्रो सुरुवात हो । हाम्रो पार्टीका कार्यालय सचिवले वताए अनसार आजभोलि सातामा ४/५ वटा विद्यालयबाट विद्यार्थीहरु पार्टी कार्यालय अवलोकन गर्न आउँदा रहेछन् र यो क्रम बढ्दो छ । हो, यसरी नै हो हाम्रो देशको राजनीतिप्रति हाम्रा विद्यार्थीहरुको चासो र विश्वास बढाउने । र, भोलि उनीहरुलाई राजनीतिमा आउन प्रेरित गर्ने ।’ उनले लेखेका छन् ।