गुल्मी । मुसिकोट नगरपालिका वडा नं. १ का वडाध्यक्ष शनिवार बिहान मृत फेला परेका छन् । नगरपालिकाको वडा नं. १ पौदीअमराइका वडाध्यक्ष मोहन घिमिरे रुखमा झुण्डिएको अवस्थामा भेटिएका जिल्ला प्रहरी कार्यालय, गुल्मीले जनाएको छ ।
शनिबार बिहान पाँच बजेतिर फेसबुक स्टाटसमा अलबिदा लेखेका उनी साढे सात बजे रुखमा झुन्डिएको अवस्थामा फेला परेका हुन् । उनको स्टाटसपछि स्थानिय र प्रहरी उनलाई खोजी गर्दा घन्टुङ्गको जङ्गलमा मृत भेटिएका हुन् ।
वडाअध्यक्ष घिमिरेले फेसबुकमा लेखेका छन् ‘परिस्थितिको चपेटामा परेपछि बाँच्नुको अर्थ हुँदो रहेनछ । प्रीय अनिता, साथ निभाउन सकेन। मलाई माफ गरे । घर परिवार, साथिभाइ सुभचिन्तक सबैसँग माफी चाहान्छु। अल बिदा ।’
शुक्रबार अपराह्न घरबाट वडाको काममा निस्केका वडाअध्यक्ष घिमिरे रातभर घर फर्किएका थिएनन् । घिमिरे नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा मुसिकोट नगरपालिका नगर कमिटीका अध्यक्षसमेत हुन् ।