• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा सातजना पक्राउ

काठमाडौं । एमबीबीएस कोर्ष अध्ययनको लागि नक्कली शैक्षिक प्रमाणपत्र बनाएको आरोपमा प्रहरीले सातजनालाई पक्राउ गरेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले नक्कली शैक्षिक प्रमाणपत्रविरुद्ध सञ्चालन गरेको ‘अप्रेसन’ अन्तरगत उक्त सातजनालाई पक्राउ गरी शुक्रबार राति सार्वजनिक गरेको हो ।

पक्राउ पर्नेमा अनु फार्मेसी विराटनगरमा कार्यरत मोरङका ३४ वर्षीय मनित चौधरी, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत बाराका ३४ वर्षीय अमित चौधरी, एमडी अध्ययनको तयारी गरेकी काठमाडौँकी २९ वर्षीया एरिना शाह, इसान बाल अस्पताल वसुन्धरामा कार्यरत ललितपुरकी ३३ वर्षीया श्रद्धा शिल्पकार, काठमाडौँका २८ वर्षीया पुनम थापा, बागमती अस्पताल रौतहटमा कार्यरत सिरहाका ३२ वर्षीय रामबाबु यादव र चितवन मेडिकल कलेजमा अध्ययनरत सप्तरीका २८ वर्षीय नसिम अख्तर रहेका छन् ।

प्रहरीले राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी, भक्तपुरलाई पत्राचार गर्दा नक्कली भएको प्रमाणित भएपछि पक्राउ गरी अनुसन्धान गरेको हो ।

पक्राउ परेका सातैजनालाई काठमाडौं जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको छ ।