काठमाडौं । बलिउड अभिनेता सनी देओल र अमीषा पटेल अभिनीत फिल्म ‘गदर २’ ४ सय करोड क्लबमा समावेश भएको छ ।
अगस्ट ११ अर्थात साउन २६ गतेदेखि प्रदर्शन भइरहेको फिल्मले मंगलबार १२ करोड १० लाख भारू कमाउँदै ४ सय करोड क्लबमा समावेश भएको हो ।
हिन्दी फिल्म बजार विश्लेषक तरण आदर्शका अनुसार फिल्मले भारतीय बक्स अफिसमा १२ दिनमा ४०० करोड ७० लाख भारू कमाएको छ । फिल्मले दर्शकको साथ पाउनुको साथै समीक्षकहरूले पनि सकारात्मक प्रतिक्रिया दिएका थिए ।
यो फिल्मले रिलिज भएदेखि नै नयाँ-नयाँ रेकर्ड राख्दै आएको छ ।
‘गदर २’ सन् २०२३ मा सर्वाधिक ओपनिङ गर्ने दोस्रो फिल्म बनेको छ । यसअघि शाहरूख खानको ‘पठान’ ले हिन्दी संस्करणमा पहिलो दिन ५५ करोड भारू कमाएको थियो ।
अनिल शर्माले निर्देशन गरेको फिल्ममा सनी देओल, अमीषा पटेल, उत्कर्श शर्मा, मनिष वधवा, गौरव चोपडा, लुभ सिन्हा, सिम्राट कौरलगायत कलाकारको अभिनय छ । फिल्मको कथा शक्तिमान तलवारले लेखेका हुन् ।
सन् २००१ मा प्रदर्शन भएको ‘गदर’ ले भारतीय बक्स अफिसमा राम्रो कमाइ गरेको थियो ।