• २०८३ असार १५
  • 2026 June 29, Monday

धरानमा सामाजिक सद्भाव कायम राख्न मानवअधिकार आयोगको अपिल

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले धरानमा सामाजिक सद्भाव कायम राख्न अपिल गरेको छ ।

शनिबार एक विज्ञप्ति जारी गर्दै आयोगले साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ति सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई अपिल गरेको हो ।

आयोगले धरानको संवेदनशील विषयलाई विभिन्न माध्यमबाट निगरानी र अनुगमन गरिरहेको भन्दै उक्त विषयमा वार्ताको माध्ययमबाट सामाजिक सद्भाव कायम राख्न सबै पक्षलाई विज्ञप्ति मार्फत अपिल गरेको छ ।

‘नेपालको संविधानको प्रस्तावनामा नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधतायुक्त विशेषतालाई आत्मसात् गरी विविधता बीचको एकता, सामाजिक, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवम् प्रबर्द्धन गर्ने उल्लेख गरिएको छ । उल्लिखित संवैधानिक व्यवस्थाका साथै संयुक्त राष्ट्र संघको बडापत्र, मानव अधिकारको विश्वव्यापी घोषणापत्र तथा नेपाल पक्ष राष्ट्र भएका महासन्धिका व्यवस्थाहरुलाई समेत आत्मसात गर्दै सामाजिक सद्भाव कायम गर्नु, गराउनु सबैको कर्तव्य हुन आउँछ ।’

साथै आयोगले धरानमा हिंसा भड्किन सक्ने आँकलन गर्दै त्यसतर्फ सचेत रहन अपिल गरेको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘साम्प्रदायिक हिंसा भड्किन सक्ने र शान्ती सुरक्षा खलबलिन सक्नेतर्फ संवेदनशील हुँदै संयमता अपनाउन एवम् सामाजिक सद्भाव कायम राख्न आयोग सम्बद्ध सबै पक्षलाई अपिल गर्दछ ।’