• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

जुवातास खेलिरहेको अवस्थामा १७ जना पक्राउ

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ नगरपालिका–११ कपन डेरा गरी बस्ने संखुवासभा मकालु गाउँपालिका–१ घर भएका ५२ वर्षीय पासाङ शेर्पाको कोठामा जुवातास खेलिरहेको अवस्थामा शेर्पासहित ४ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख १३ हजार ५ सय रूपैयाँ, १ लाख भारतीय रूपैयाँ, १ हजार १ सय अमेरिकी डलर र ३ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी काठमाडौं, टोखा नगरपालिका–१ झोर बस्ने नुवाकोट शिबपुरी नगरपालिका–७ घर भएका ५६ वर्षीय एक राज कँडेलको टहरामा कौडा खेलिरहेको अवस्थामा नागार्जुन नगरपालिका–१ घर भएका ४४ वर्षीय रोशन ठकुरी समेत १३ जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त महाराजगंजबाट खटिएको प्रहरीले उनीहरूलाई १६ थान कौडा र नगद ३ लाख २६ हजार रूपैयाँसहित पक्राउ गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।