रामेछाप । निर्माणाधीन सेलेघाट–रामेछाप–साँघुटार सडकको काम निर्माण व्यवसायीले अलपत्र पारेपछि सो सडकमा गुड्ने यात्री र यातायात साधनले सास्ती खेप्नु परेको छ ।
सडकको पुरानो संरचना भत्काएर लथालिङ्ग पारी छाडेपछि रामेछाप र ओखलढुङ्गाको लिखु क्षेत्रबाट काठमाडौं आउजाउ गर्ने यातायात साधन जोखिममा परेका छन् ।
रामेछापको मन्थली नगरपालिका–६ सेलेघाटदेखि रामेछाप नगरपालिकाको रामेछाप बजार हुँदै ओखलढुङ्गाको सिमाना लिखु किनारको साँघुटारबजारसम्म पुग्ने करिब ५० किलोमिटर लामो सो सडक निर्धारित समयमा नबन्दा यात्रीहरू जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । अहिले सडकमा जथाभाबी खनेर छाडिएका कारण यातायात साधन चिप्लिएर चल्नै नसक्ने भएका छन् । ‘सडक जथाभाबी खनेर छाडिएको छ, चिप्लिएर यातायात साधन चढ्नै नसक्ने अवस्था छ, कहाँ गएर ठुलो दुर्घटना हुने हो थाहा छैन’, रामेछाप नगरपालिका–२ देउरालीका रामबहादुर बुढाथोकीले भने ।

भारतीय एक्जिम बैङ्क मार्फत बन्ने सो सडक निर्माणको जिम्मा भारतीय निर्माण कम्पनी टेलिकम्युनिकेसन इन्डिया लिमिटेड (टीसीआईएल)ले पाएको छ । सो कम्पनीले नेपाली निर्माण व्यवसायीलाई काम जिम्मा दिएको छ ।
सन् २०२० को नोभेम्बर ११ मा सुरु भएको आयोजना २०२३ को मे १० भित्र कूल १ अर्ब ९४ करोड ७१ लाख रुपैयाँमा सक्नुपर्ने गरी सम्झौता भएको थियो । तर निर्धारित समयमा ४० प्रतिशत काम पनि नभएपछि सोही कम्पनीलाई फेरी १७ महिनाको म्याद थप गरिएको छ ।
सडक जताततै भत्काएर छाडिदिँदा सडक मुनिका बस्ती समेत जोखिममा परेका छन् । सडक खन्दा निर्माण व्यवसायीले व्यक्तिको जग्गा र घर–गोठ माथिबाट समेत ढुङ्गा–माटो झारिदिएर अन्याय गरेको रामेछाप नगरपालिका–३ साँघुटारका स्थायी बासिन्दा समेत रहेका नेकपा एमाले जिल्ला कमिटी रामेछापका उपसचिव होतराज ढकाल बताउँछन् । ‘जताततै भत्काएर छाडिएको सडकले कतिपयको खेतीयोग्य जमिन पुरेको छ, कतिपयको घर–गोठ उठिबास लाग्ने अवस्था छ’, उनले भने ।
रामेछाप नगरपालिका उपप्रमुख बालाकुमारी कार्की बारम्बार निर्माण कम्पनीलाई ताकेता गर्दा पनि कामले गति नलिएको बताउँछिन् । आयोजनाको कारण जनप्रतिनिधिले समेत खप्की खानु परेको उनले बताइन् ।
काठमाडौं र तराईबाट रामेछापको सालु, देउराली, साँघुटार लगायता क्षेत्रका साथै दोलखाको लिखु, घोराखोरी लगायतका क्षेत्रमा जाने यातायात साधन यही सडक भएर चल्दछन् । निर्माण कम्पनीले बाटो बिगारेको कारण साँघुटारदेखि सालुसम्म यातायात साधनहरू घण्टौँ फस्ने गर्दछन् । यसरी फसेका गाडी यात्रुहरूले घण्टौँसम्म डोरी लगाएर तान्ने गर्दछन् । निर्माण व्यवसायीले भने समयमा काम गर्न अटेर गरेर नागरिकलाई सास्ती दिँदै जोखिमपूर्ण यात्रा गर्न बाध्य बनाइरहेको छ ।
