काठमाडौं । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता अग्निप्रसाद सापकोटाले शान्ति प्रक्रियालाई निष्कर्षमा पुरयाउनुको विकल्प नरहेको बताएका छन् ।.
शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले यस्तो बताएका हुन् ।
प्रवक्ता सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा पनि शान्ति प्रक्रियालाई टुंगोमा पुर्याउने कुरामा विदेशी निकायहरुको सहयोग माग्ने कुरा पहिलो प्राथमिकतामा रहेको बताए । उनले शान्ति प्रक्रिया एक हिसावमा सफल भइसके पनि निष्कर्षमा पुर्याएर एक प्रकारले घोषणा गर्न मात्रै बाँकी रहेको उल्लेख गरे ।
सापकोटाले प्रधानमन्त्रीको अमेरिका भ्रमणमा मौलिक रुपमा आफ्नो विशेषतासहितको शान्ति प्रक्रिया अघि बढाइरहेका छौँ भनेर विश्व समुदायलाई अपिल गर्ने काम मुख्य प्राथमिकतामा रहेको बताए । उनले शान्ति प्रक्रिया १८ वर्ष लागिसक्दा पनि निष्कर्षमा पुर्याउन नसक्नु राष्ट्रिय कमजोरी रहेको बताए ।