
रौतहट । रौतहटको गरुडा बजारमा रहेको एनआईसी एसिया बैंकले कृषि ऋण दिएबापत ऋणीसँग रकम असुलेको पाइएकाे छ । एनआईसी एसिया बैंक गरुडा शाखाका प्रमुख आमाेद गुप्ताले कृषि फर्म र तीनका सञ्चालकलाई दिएकाे ऋणबाट कमिशन रकम असुलेका हुन् ।
गुप्ताले अम्बे कृषि फर्मलाई २ करोड ५ लाख ऋण दिएबापत ५० लाख असुलेको भनी असोज २ गते जिल्ला प्रशासनमा ठगीसम्बन्धी उजुरी परेको थियाे । पीडितले जिल्ला प्रशासन कार्यालयमा उजुरी दिएपछि जिल्ला प्रहरीलाई पत्राचार गरेर जिल्ला प्रशासनले याे विषय जानकारी गराएकाे थियाे । त्यसपछि प्रहरीले याे घटनाबारे अनुसन्धान गरिरहेकाे छ ।
यसक्रममा गुप्ताले अन्य कृषि ऋण लिएका व्यक्तिबाट पनि रकम असुलेकाे पाइएकाे छ । गुप्तामाथि दुर्गा भगवती–१ स्थित अशोका एग्रिकल्चर प्रालिका सञ्चालक अशोककुमार साहलाई ४ करोड ७५ लाख रुपैयाँ ऋण दिएबापत ८५ लाख, जय बाबा बैजनाथ एग्रिकल्चर चन्द्रपुर–९ का सञ्चालक राकेश साहलाई ३ करोड २० लाख ऋण दिएबापत ७० लाख, अनु कृषि फर्म चन्द्रपुर –५ का सञ्चालक चिन्टु रायलाई ३ करोड ५० लाख ऋण दिएबापत ३० लाख र आकार कृषि फर्म दुर्गा भगवती गाउँपालिकाका अरुण साहलाई ३ करोड १० लाख रुपैयाँ ऋण दिएबापत ३० लाख रकम लिएको आरोप छ ।
गुप्ताले गरुडाकै एक ब्यापारीले लिएकाे ऋण मिलाउनका लागि अन्य ऋणीहरुसँग रकम असुलेकाे पनि खुल्न आएकाे छ । उनले असुल गरेकाे सबै रकम गरुडाकै व्यापारी बादल गल्ला भण्डारको खातामा जम्मा गरिएकाे छ । गल्ला भण्डारका सञ्चालक हाल फरार छन् । उलने बैंकबाट ४ करोड ऋण लिएर फरार भएका हुन् । प्रमुख गुप्ताले फरार ब्यक्तिको खातामा ऋण मिलाउन अर्कालाई ऋण दिएर रकम असुलेको देखिन्छ ।
यस विषयमा जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेकाे छ । बैंकका शाखा प्रमुख गुप्ता र ऋणका लागि निवेदन दिएका निवेदकहरूसित बयान लिने काम भइरहेको जिल्ला प्रहरीले जनाएकाे छ । शाखा प्रमुख गुप्ताले भने ऋणीहरूसित सल्लाह गरेरै रकम बादल गल्ला भण्डारमा जम्मा गरेको दाबी गरेका छन् ।