काठमाडाैं । देशका विभिन्न भूभागमा लगातार झरी परिरहेको छ । जल तथा माैसम विज्ञान विभाग अन्तर्गतकाे माैसम पूर्वानुमान महाशाखाका अनुसार बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा रातिदेखिको झरी रोकिएको छैन ।
काठमाण्डौ उपत्यकामा पनि रातिदेखिको झरी रोकिएको छैन । आज पनि उपत्यकासहित देशका धेरैजसो ठाउँमा झरी पर्ने महाशाखाका मौसमविद्ले बताएका छन् । महाशाखाका अनुसार आज कोशी, मधेस, बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई ठाउँमा ठूलो पानी पर्ने अनुमान छ ।
गएराति पाल्पा र आसपासका क्षेत्रमा धेरै वर्षा भएको छ । ती क्षेत्रमा बाढीको सम्भावना रहेकाले सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।
भोलिदेखि भने क्रमिक रुपमा मौसम खुल्दै जाने मौसमविद्को अनुमान छ । यसपालि मनसुनको अन्तिमतिर झरी परेको हो । बाहिरिने समयमा मनसुन फेरि सक्रिय भएको हो ।
सामान्यतया नेपालमा अक्टोबर २ तारिखमा मनसुन बाहिरिने गर्छ । यसपालि एक हप्ता ढिलो गरी मनसुन बाहिरिने सम्भावना रहेको मौसमविद्को अनुमान छ ।