काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले क्रान्तिबाट आएको परिवर्तन रक्षाका लागि पार्टी र देशको नेतृत्वमा आफू पुगिरहेको बताएका छन् । शनिवार काठमाडौँमा पार्टीका नेता राम कार्कीको लेखहरूको पुस्तक विकल्प समाजवाद र मुक्त दुनियाँ विमोचन गर्दै अध्यक्ष प्रचण्डले विकल्प आएमा आफू नेतृत्व छोड्न तयार रहेको आशय व्यक्त गरेका छन् ।
उनले विभिन्न देशमा भएका क्रान्तिको उदाहरण दिँदै प्रत्येक क्रान्तिले प्रतिक्रान्ति जन्माउने बताए । मार्क्सकै शब्दमा क्रान्तिले सँगै शक्तिशाली प्रतिक्रान्तिलाई जन्म दिँदै त्यसका विरुद्ध विकसित हुने बताउँदै उनले एकपटक क्रान्ति भएपछि प्रतिक्रान्ति हुँदैन, प्रतिगमन आउँदैन, प्रतिगमन र प्रतिक्रान्तिसँग लड्नुपर्दैन भनेर सोचियो भने त्यो मार्क्सवाद नहुने बताए ।
उनले भने–‘कुन चाहिँ क्रान्ति भएपछि त्यो कसको नेतृत्वमा निरन्तर गएको छ र ? हामी अक्टोबर क्रान्तिको कुरा गर्छौ, लेनिनले त्यसको ६ वर्षपछि आफ्नै सत्तालाई वाहियात, भ्रष्ट र बेकारको सत्ता भनेर गाली गर्नुपर्ने अवस्था किन आयो ? हामीले त्यसको पनि समीक्षा गर्नुछ ।’