दुर्गम गाउँका बस्तीमै नुन पाइन थालेपछि स्थानीय खुसी

मुगु । पछिल्लो समय मुगु जिल्लामा रहेका ४ वटा स्थानीय तहहरुमध्ये मारोङ गाउँपालिका र आसपास क्षेत्रमा सरकारी अनुदानको नुन आउन थालेपछि स्थानीय बासिन्दा खुसी भएका छन् ।

पहिले अनुदानको नुन सरकारले बार्षिक कोटा नछुट्याएको हुँदा नुनप्रति केजी ९ रुपैयाँमा पाउर्ने नुन स्थानीय बजारमा प्रतिकेजी ५० देखि १ सय रुपैयाँसम्म महङ्गोमा किनेर खानुपर्ने बाध्यता थियो ।

चीनको सिमानामा रहेको नाक्चेलाग्ना हाटबाट नुन प्रयोग गर्दै आए पनि ३ बर्षयता कोरोना महामारीका कारण भन्दै चीन सरकारले नाक्चेलाग्नाको हाट बन्द गरिदिएकाले समस्या भएको थियो ।

मारोङ्ग गाउँपालिकाका डोल्फु, चितै, दाउरा, पुव, सेरोग, किम्री, मह, माग्री, मह, रिउस, गाउँका बासिन्दाको नुनको समस्या समाधानका लागि जिल्लामा रहेका सरोकारवाला निकाय र स्थानीय सरकारको पहलमा अचेल वडाहरुमै सरकारी अनुदानको नुन आउन थालेको हो ।

बिगत वर्षहरुमा चीन र मुगुको सिमाना नाक्चेलाग्ना नाकामा हाटबजार लाग्दा नुनलगायत अन्य सामान किन्नुपर्थ्यो । नत्र सदरमुकाम गमगढी बजार पुगेर नुन र अरु चिजवस्तु किन्नुपर्ने बाध्यता थियो ।

अनुदानमा ९ रुपैयाँमा पाइने नुन लिन घरबाट बजार जान र आउन प्रति १ केजी नुनको ४ देखि ५ सय रुपैयाँ थप लाग्ने गर्थ्यो । स्थानीय पेपा छुल्दिम लामाका अनुसार स्थानीय सरकारको पहलमा वडामा प्रतिघर ३० केजी नुन ९ रुपैयाँले पाउँदा निकै सहज भएको छ ।

बिगतका वर्षमा मुगु जिल्लामा छाँयानाथ रारा नगरपालिका, सोरु, खत्याड गाउँपालिकाका नागरिकहरुलाई वार्षिक नुनको कोटा निर्धारण गरिएको भए पनि मारोङ गाउँपालिकालाई भने कोटा निर्धारण भएको थिएन ।

गाउँपालिकाबासीले ५ केजी नुन लिन सदरमुकाम आउँदा जाँदा ५–६ हजार रुपैयाँ खर्च गर्नुपर्ने अवस्था थियो । यही समस्यालाई मध्यनजर गरेर जिल्लामा रहेको साल्ट टेडिङ्ग कर्पोरेसनको कार्यालय, जिल्ला प्रशासन कार्यालयमा अनुरोध गरेर पालिकाभित्र रहेका सबै वडाका नागरिकहरुलाई वडा कार्यालयबाटै प्रतिघर ३० केजीका दरले नुन उपलब्ध गराउन थालिएको मारोङ्ग गाउँपालिकाका अध्क्षय छिरिङ्ग क्याप्र्ने लामाले बताए ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१