• २०८३ जेठ २३
  • 2026 June 06, Saturday

विश्वकप क्रिकेटमा आज दुई खेल, इंग्ल्यान्ड र बंगलादेश तथा पाकिस्तान र श्रीलंका खेल्दै

काठमाडौं । आईसीसी पुरुष विश्वकप क्रिकेटमा मा आज दुई खेल हुँदै छन् । धर्मशालामा नेपाली समयअनुसार सवा ११ बजे सुरु हुने खेलमा इंग्ल्यान्ड र बंगलादेश प्रतिस्पर्धा गर्ने छन् ।

बंगलादेश लगातार दोस्रो जितको खोजीमा हुदाँ पहिलो खेल गुमाएको साविक विजेता इंग्ल्यान्ड पहिलो जितको खोजीमा हुनेछ ।

सन् २०१५ को विश्वकपमा बंगलादेशले इंग्ल्यान्डलाई १५ रनले पराजित गर्दै इंग्लिस टोलीलाई समूह चरणबाटै घर फर्काएको थियो । सन् २०११ को विश्वकपमा पनि बंगलादेशले इंग्ल्यान्डलाई २ विकेटले पराजित गरेको थियो ।

प्रतियोगिताको इतिहासमा दुई टोलीबीच ४ खेल भएको छ, जसमा दुवै टोलीले समान २–२ खेल जितेका छन् । समग्रमा यी दुई देशबीच एकदिवसीयमा २४ खेल खेलिएका छन् । जसमा इंग्ल्यान्डले १९ र बंगलादेशले ५ खेल जितेको छ ।

बंगलादेशले विश्वकप क्रिकेटमा लगातार दोस्रो खेल धर्मशालामा खेल्दैछ । यसअघि टोलीले यहाँ अफगानिस्तानसँग पनि खेलेको थियो । बंगलादेशी स्पिनरको अगाडि अफगानिस्तानको टोली १५६ रनमा अलआउट भयो । ब्याटिङमा टिमको जिम्मेवारी नजमुल हुसेन शान्तो, मिराज, शकिब, मुस्फिकुर रहिम र महमुदुल्लाहको हुनेछ । पेस विभागको नेतृत्व तस्किन अहमद र मुस्ताफिजुर रहमानले गर्नेछन् । स्पिन बलिङको जिम्मेवारी कप्तान शकिब अल हसन र मेहदी हसन मिराजको काँधमा छ ।

साविक विजेता इंग्ल्यान्ड विश्वकपको उद्घाटन खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो । अब धर्मशालामा बंगलादेशको स्पिन आक्रमणविरुद्ध इंग्ल्यान्डको आक्रामक ब्याटिङको परीक्षा हुनेछ । बेन स्टोक्सले आजको खेल पनि गुमाउने सम्भावना छ । डेभिड मलान यस वर्ष एकदिवसीय क्रिकेटमा इंग्ल्यान्डका शीर्ष रनकर्ता हुन् भने आदिल राशिदले टोलीका लागि सबैभन्दा बढी विकेट लिएका छन् ।

आजै दिउँसो सवा २ बजे हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा पाकिस्तान र श्रीलंकाबीच प्रतिस्पर्धा हुनेछ ।