सुपरओभरमा नेपाललाई हराउँदै ओमानले जित्यो विश्वकप छनोटको उपाधि

काठमाडौं । टी-२० विश्वकप छनोटको फाइनलमा नेपाल ओमानसँग पराजित भएको छ । निर्धारित २०-२० ओभरमा स्कोर बराबरी भएपछि सुपरओभरबाट निर्णय भएको हो ।

नेपालले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याएको ओमानले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनाएपछि खेल सुपर ओभरमा पुगेको हो ।

सुपर ओभरमा नसिम खुसी अकिब इलियासले २१ रन बनाएका थिए । २२ रनको नयाँ लक्ष्य पाएको नेपालका लागि कुशल भुर्तेल पहिलो बलमा नै क्याच आउट भए ।

सुपर ओभरमा ओमानले २२ रनको लक्ष्य दिएकामा नेपालले जम्मा १० रन मात्र बनाउन सक्यो ।

सुपर ओभरमा पहिले ब्याटिङ रोजेको ओमानले तीन छक्काको मद्दतमा २१ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको नेपालका लागि कुशल भुर्तेल र गुल्सन झा ब्याटिङमा आएका थिए ।

तर पहिलो बलमै ब्याटर कुशल भुर्तेललाई गुमायो । त्यसपछि कुशल मल्ल आएका थिए । मल्लले २ चौका हाने पनि नेपाललाई खेल जिताउन पर्याप्त भएन ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको नेपालले दिएको १८५ रनको लक्ष्य पछ्याएको ओमानले २० ओभरमा ९ विकेट गुमाउँदै १८४ रन बनाएपछि खेल बराबरी भएको थियो ।

अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा सन्दीप लामीछानेले २ विकेट र १ रन आउटसहित ३ विकेट लिएका थिए । तर अन्तिम बलमा २ रन चाहिएको अवस्थामा फैयाज बट रन आउट हुँदा खेल बराबरीमा रोकियो ।

ओमानका लागि ओपनर कश्यप प्रजापतिले सर्वाधिक ६३ रनको अर्धशतकीय पारी खेले । ५२ बलमा ३ चौका र ४ छक्का प्रहार गरेका उनी अविनाश बोहराको बलमा रोहित पौडेलबाट क्याच आउट भए ।

ओमानका अकिव इलियासले ३३ र जिसन मक्सुदले २६ रन बनाए ।

नेपालका लागि करण केसी र सन्दीप लामीछानेले समान २/२,सोमपाल कामी, गुल्सन झा, विवेक कुमार यादव, अभिनाश बोहरा, समान १/१ विकेट लिए ।

त्यसअघि नेपालले कप्तान रोहित पौडेल र गुल्सन झाको अर्धशतकीय पारीको मद्दतमा निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १८४ रन बनाएको थियो ।

आइतबारको खेलमा गुल्सनले टी–२० अन्तर्राष्ट्रियमा पहिलो अर्धशतक बनाए । उनले २० बलमा ४ छक्का र ५ चौकाको मद्दतमा अर्धशतक पूरा गरेका हुन् ।

नेपालका कप्तान रोहित पौडेलले टी–२० अन्तर्राष्ट्रियमा पाँचौं अर्धशतक बनाउने क्रममा ३६ बलमा २ छक्का र ५ चौकाको मद्दतमा ५० रन पूरा गरे ।

ओमानका लागि बलिङमा विलाल खानले ३, अकिव इलियासले २ र कप्तान जिसन मक्सुदले १ विकेट लिए ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१