विराटनगर । झापाको बुद्धशान्ति गाउँपालिका–५ का ४५ वर्षीय धनबहादुर कटवालको हत्यामा संलग्न रहेका उनकै सालोलाई प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीका अनुसार पक्राउ पर्नेमा स्थानीय ३५ वर्षीय रोशन अधिकारी छन् ।
कात्तिक २२ गते राति ११ बजे उनीहरुबीच घरायसी विषयमा बिबाद भएको थियो । त्यस क्रममा अधिकारीले कटवाललाई खुकुरी र बाँसले टाउको र शरीरको विभिन्न भागमा प्रहार गरेको प्रहरीले जनाएको छ ।
सिकिस्त घाइते भएका कटवाललाई उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर लगिएको थियो । उपचारकै क्रममा उनको बिहीबार मृत्यु भएको थियो ।
घटनाबारे जनाकारी पाउनासाथ इलाका प्रहरी कार्यालय बुधबारे झापाबाट घटनास्थलमा खटिएको प्रहरीको टोलीले अधिकारीलाई तत्काल पक्राउ गरेको हो । घटना सम्बन्धमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।