
काठमाडाैं । नेपाली कांग्रेसले भूकम्प प्रभावित जाजरकोट र रूकुम पश्चिममा अस्थायी आवास बनाउन पार्टीका केन्द्रीय सदस्य प्रदीप पौडेलको नेतृत्वमा टोली पठाएको छ ।
भूकम्प प्रभावित क्षेत्रमा एक हजारवटा अस्थायी आवास बनाउने अभियान अनुसार आज पौडेल नेतृत्वको टोली जाजरकोट प्रस्थान गरेको हो ।
सोमबार बिहान सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकले पनि अस्थायी आवास बनाउन स्वयमसेवक खटाउने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार पौडेल नेतृत्वको पहिलो टोली भूकम्प प्रभावित क्षेत्रतिर लागेको हो ।
कांग्रेसले इन्जिनियर, डकर्मीसहित २५ वटा टोली भूकम्प प्रभावित क्षेत्रमा टहरा बनाउन परिचालन गर्ने निर्णय गरेको थियो । एउटा टोलीमा १० जनाका दरले स्वयमसेवक हुनेछन् ।
पौडेल नेतृत्वको टोलीमा नेता डिल्लीराम सुवेदी, सुशील भट्ट, पुष्प बस्नेत, दिपक कँडेल, भागवत रेग्मी, सुवास घिमिरे, जीवन सुवेदी, नवराज डागी लगायत छन् ।
जाजरकोटको नलगाड नगरपालिकामा मंगलबारदेखि टहरा निर्माण कार्य सुरू गरिने पाैडेलले बताए । नेपालगन्ज र सुर्खेतबाट ३५ जना सिकर्मी–डकर्मी, ५–६ जना इन्जिनियर लगिएको उनको भनाइ छ ।
जाजरकोटमा सय जना स्वयंसेवी अस्थायी आवास निर्माणमा परिचालन हुनेछन् । पौडेल नेतृत्वको टोली सय वटा अस्थायी आवास बनाए करिब एक सातापछि काठमाडौँ फर्किने छ ।