अफगानिस्तानले नयाँ दिल्लीको राजदूतावास बन्द गर्यो

काठमाडौं । अफगानिस्तानले भारतको राजधानी नयाँ दिल्लीमा रहेको आफ्नो दूतावास स्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ । नयाँ दिल्लीमा रहेको आफ्नो कूटनीतिक नियोग बन्द गर्ने बारे आधिकारिक विज्ञप्ति जारी गर्दै अफगान दूतावासले भारत सरकारको निरन्तर चुनौतीका कारण नोभेम्बर २३, २०२३ देखि दूतावास बन्द गर्ने निर्णयमा पुगेको जनाएको छ ।

मिसनको सामान्य सञ्चालनका लागि भारत सरकारको दृष्टिकोणमा सकारात्मक परिवर्तन आउने आशामा यो कदम चालिएको पनि जनाइएको छ ।

अफगान दूतावासका अनुसार अगस्ट २०२१ देखि भारतमा अफगानीहरूको संख्या आधा भएको छ । यस अवधिमा धेरै सीमित नयाँ भिसा जारी गरिएको थियो । नयाँ दिल्लीस्थित अफगान दूतावास अपदस्थ अफगान राष्ट्रपति असरफ घानीको अघिल्लो सरकारले नियुक्त गरेको कर्मचारीको सहयोगमा भारतीय अधिकारीहरूको अनुमतिमा चलाइएको थियो । यद्यपि, भारतले अगस्ट २०२१ मा अफगानिस्तानमा सत्ता कब्जा गरेको तालिबान सरकारलाई मान्यता दिएको छैन ।

भारतले दुई वर्षअघि अफगानिस्तानबाट आफ्ना कर्मचारी फिर्ता गरेको थियो । त्यसपछि अफगानिस्तानमा भारतीय कूटनीतिज्ञको उपस्थिति छैन । संयुक्त राष्ट्र शरणार्थी एजेन्सीका अनुसार भारतमा दर्ता भएका करिब ४० हजार शरणार्थीमध्ये एक तिहाइ अफगानी छन् । तर, त्यो संख्यामा संयुक्त राष्ट्र संघमा दर्ता नभएकाहरूलाई समावेश गरिएको छैन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१