घुम्न जाऔँ जिरी(तस्विर)

काठमाडौंबाट नजिकको गन्तव्य हो जिरी । काठमाडौंबाट करिब ६ घण्टाको यात्रामा जिरी पुग्न सकिन्छ । ‘नेपालको स्वीजरल्याण्ड’ र ‘सगरमाथाको प्रवेशद्वार’का रुपमा चर्चा कमाएको छ जीरीले ।

सन् १९५३ मा प्रथम सगरमाथा आरोही सर एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पा जिरी हुँदै सगरमाथा आरोहणमा गएका थिए । उनीहरुले सगरमाथाको सफल आरोहण गरेपछि जिरी ‘सगरमाथाको प्रवेशद्धार’का रुपमा चिनिन थाल्यो ।

वि.स २०१४ तिर स्विटजरल्याण्ड सरकारले आर्थिक र प्राविधिक सहायता दिएर पशु विकास कार्यक्रम सुरु गरेपछि जिरीमा स्विसहरुको आगमन बढ्न थाल्यो । त्यसपछि जिरीले ‘नेपालको स्विटजरल्याण्ड’ उपमा पायो । अहिलेपनि जिरी बजारको नाम ‘लिंकन बजार’ हो । यो नाम स्विसहरुले नै दिएको हुन् ।

जिरी सगरमाथा आरोहणमा जाने पदयात्रीले चर्चित बनाएका हुन् । सगरमाथा क्षेत्रमा जाने पदयात्रीले काठमाडौंबाट सगरमाथासम्म पुग्ने छोटो बाटोको खोजीमा जिरी रोजे ।

करिब ३७ सय मिटर उचाईमा रहेको चेर्दुङ डाँडाको फेदमा लमतन्न परेको फाँट हो, जिरी । पछिल्लो समय जिरी हुँदै सगरमाथा क्षेत्रसम्म पदयात्रामा जाने पर्यटकको संख्या घटेको छ । तर, जिरीमा आन्तरिक पर्यटकको संख्या भने बढिरहेको छ । जिरीमा आन्तरिक पर्यटकका लागि घुम्ने, एक दिनको हाईक गर्ने प्रसस्तै रमणीय ठाउँ छन् ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१