न्युट्रिसियन फूडमा काेशी स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रकाे ‘व्यापक चलखेल’

  • निर्देशक भन्छन्- निर्देशिका र मापदण्ड पालना गरेका छाैँ
  • काठमाडाैं । बालबालिकालाई कुपोषण न्यूनीकरणका लागि आवश्यक पर्ने ‘न्युट्रिसियन रेडी टु युज फुड/रेडी टु इट सप्लीमेन्ट्री’का लागि कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले निकालेको टेण्डर प्रक्रियामा सेटिङ गरेको भन्दै आपूर्तिकर्ताले आपत्ति जनाएका छन् ।

    व्यवस्थापन केन्द्रले निकालेको न्युटिसियन रेडी टु युज फुड रेडी टु युज सप्लीमेन्ट्री उत्पादन तथा आपूर्ति गर्ने नेपालमा छ वटा कम्पनी रहेकोमा स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले कुनै एउटा मात्र कम्पनीले मापदण्ड पूरा गर्ने र अरूलाई दाबी विरोधको ढोका पनि बन्द गर्ने गरी सेटिङमा टेन्डर निकालेपछि ठूलो चलखेल भएको भन्दै टेण्डर निकाल्नासाथ विवादित बनेकाे हाे ।

    शक्ति केन्द्रहरूको आशीर्वाद प्राप्त कम्पनीका लागिमात्र आवश्यक पर्ने मापदण्ड राखेर टेन्डर खोलेपछि ठूलो नीतिगत भ्रष्टाचारको आशंका गरीएको छ । बर्षौँदेखि सोही प्रोडक्ट उत्पादन तथा वितरण गर्दै आएका कम्पनीलाई अयोग्य बनाएर सेटिङवाला कम्पनीलाई मात्र योग्य हुने मापदण्ड राखिएको भनेर टेन्डर रद्ध गर्न आपूर्तिकर्ताले दबाब दिएका छन् ।

    गतवर्ष निकालेको टेन्डर अन्तिम समयमा रद्ध गरी अहिले मापदण्ड फेरेर सरकारी निकायमा दुई करोड ५५ लाख बराबरको सामान आपूर्ति गरेको हुनुपर्ने अनिवार्य शर्त राखेपछि सो मापदण्ड पूरा गर्ने एउटा मात्र कम्पनी भेटिएको र उसकै सेटिङमा मन्त्री–मुख्यमन्त्रीसम्मकै मिलेमतोमा त्यस्तो मापदण्ड बनाएको दाबी एक आपूर्तिकर्ताले बताए ।

    सेटिङमा टेन्डर निकालेको भन्ने आपूर्तिकर्ताको विरोधमा कोशी प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. बिरेन्द्र कुमार मण्डल भने आफूहरु निर्देशिका र मापदण्डमा नै रहेर काम गरेकाे दाबी गर्छन् । उनी भन्छन् ‘टेन्डर आह्वान गर्दाखेरी निर्देशिका बमाेजिम नै गरेका छाैँ । टेन्डरकाे जुन न्यूनतम क्राइटएरिया हुन्छ एनसीबी गर्दा त्यही परिधिभित्र बसेर हामीले काम गरेका छाैँ ।’

    डा. मण्डलले यसो भनेपनि आपूर्ति व्यवस्थापन केन्द्रले गत नोभेम्बर २३ तारीखमा निकालेको रेडी टु युज फुड/ रेडी टु इट सप्लिमेन्ट्रीको टेण्डरमा सो मापदण्ड पूरा गर्ने एउटा मात्र कम्पनी योग्य हुने दाबी आपूर्तिकर्ताको छ । उनीहरुले कुनै अमुक कम्पनीले मात्र मापदण्ड पुरा गर्ने गरी निकालेको टेण्डर सेटिङ गरेर कमिसनको लोभमा यसो गरिएको भन्दै अख्तियारले यो विषयमा छानबिन गर्नुपर्ने दाबी गरे ।

    तर प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रका निर्देशक डा. विरेन्द्रकुमार मण्डलले उहाँहरुले दाबी गरे जस्तो सेटिंग वा कुनै कम्पनीलाई पार्ने गरी टेन्डर ननिकालिएकाे जिकिर गरे ।

    हेर्नुहाेस् भिडिओ :

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१