सुन तस्करी बारे ९ चिनियाँसँग बयान लिइँदै , २२ नेपालीको सकियो

काठमाडौं । सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोगले सुन ओसारपसारमा संलग्न नौ जना चिनियाँ नागरिकसँग २४ गते आईतबारदेखि बयान लिने भएको छ ।

आयोगले अवैध सुन कारोबारमा संलग्न पाईएका २२ नेपाली नागरिकसँग बयान लिईसकेको छ । यसबाहेक त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलका सम्बध्द कर्मचारी, काठमाडौं नयाँ सडकका सुन व्यवसायी, सुनचाँदी व्यवसायी महासंघका पदाधिकारी र नेपाल आभूषण संघका पदाधिकारी, नेपाल पारवहन केन्द्र र उद्योग वाणिज्य संघसँग सुनको अवैध कारोबारबारेमा जानकारी लिएको आयोग सचिवालयले जनाएको छ ।

आयोगका अध्यक्ष पूर्व न्यायाधीश डिल्लीराज आचार्यले नेपाल बार एशोशिएशन र सर्वोच्च बार एशोशिएशनसँग पनि सुनको अवैध कारोबार नियन्त्रण गर्न के कस्तो कानूनी व्यवस्था र नीतिगत सुधार गर्न आवश्यक भनेर परामर्श गर्ने जानकारी दिएका छन् ।

आयोगले देशका केही भन्सार नाकाहरुको स्थलगत अवलोकन भ्रमण पनि गर्ने तयारी गरिरहेको थाहा भएको छ ।

यसअघि आयोगका पदाधिकारीले रसुवाका केही सीमावर्ती नाकाहरुको स्थलगत अध्ययन भ्रमण गरेको थियो । ठूलो परिमाणको सुन समातिएपछि गठन भएको आयोगले सुनको तस्करी हुने नाकाहरुको अनौपचारिक भ्रमण गर्ने भएको छ ।

दशैं र तिहारको बीचमा रसुवा क्षेत्रको अध्ययन गर्न गएको आयोगको टोलीले अनौपचारिक तरिकाले केरुङ्गसम्मको स्थलगत अध्ययन गरेको थियो ।

चीनको राजधानी बेइजिङ्गबाट ठूला मालबाहक ट्रकमा ढुवानी गरेर सुन नेपालको उत्तरी सीमासम्म ल्याउने र त्यहाँबाट ससाना ट्रकमा सामानमा मिसाएर यता छिराउने गरिएको सूचना भ्रमण टोलीले पाएको थियो । रसुवा भन्सार पूर्वका केही स्थानमा यसरी छिराईएको सुन नेपालका उत्तरी नाकाका विभिन्न स्थानबाट तस्करहरुले ओसारपसार गरेको जानकारी पनि आयोगलाई उपलव्ध गराईएको सूत्रले बताएको छ । आयोगको टोली त्यता रहेकै समयमा चिनियाँ प्रहरी नै पाँच किलो अवैध सुन समातेको थियो ।

सरकारले पछिल्लो पटक ठूलो परिमाणमा सुन पक्राउ परेपछि ‘सुनको अवैध पैठारी (तस्करी) नियन्त्रण सम्बन्धी जाँचबुझ आयोग–२०८०’ गरेको थियो ।

‘सुन आयोग’ भनी चर्चामा रहेको आयोगले सुन तस्करीका अहिलेसम्म भएका न्यायीक अर्धन्यायिक विषयहरुबाट प्रवेश गरेर, सीआईबीको अनुसन्धानलाई स्रोत सामग्रीको रुपमा लिदैँ घटनाक्रमहरुलाई आफ्नै ढंगले अनुन्धान गरिरहेको जनाएको छ ।

‘सुनको अवैध पैठारीका सम्बन्धी अपराधको पूर्ण नियन्त्रण गर्न मौजुदा कानुनमा गर्नुपर्ने परिमार्जन र संरचनात्मक सुधारका सम्बन्धमा, यसअघि पटक पटक भएका सुन तस्करी सम्बन्धी छानबिन तथा अध्ययन प्रतिवेदनका अन्तरवस्तु निष्कर्ष तथा त्यसको प्रभावका सम्बन्धमा पनि आवश्यक तथ्यगत जानकारी र सूचना आयोगले लिने भएको छ ।

सुन तस्करीको प्रकृति, सुनको परिणाम र सुन तस्करीको दायरा, सुन तस्करी कार्यमा संलग्न व्यक्तिहरुको संलग्नता र थप अनुसन्धान, सुनको अवैध पैठारी (तस्करी) सम्बन्धी मुद्दामा भएका न्यायिक वा अर्धन्यायिक फैसला वा अन्तिम आदेशका सम्बन्धमा पनि आवश्यक जानकारी समितिले लिनेगरी कार्य योजना बनाइएको आयोगले यसअघि पत्रकार सम्मेलनमा जानकारी दिइसकेको छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१