• २०८३ असार ३१
  • 2026 July 15, Wednesday

काठमाडौंमा आज यस वर्षको सबैभन्दा बढी चिसो

काठमाडौं। काठमाडौ उपत्यकामा आज यस वर्ष अहिलेसम्मकै चिसो भएको छ । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् सञ्जीव अधिकारीका अनुसार बिहान काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ६.२ डिग्री सेल्सियस देखिएको हो ।

यसअघि उपत्यकाको न्यूनतम तापक्रम ६ डिग्री सेल्सियसम्म पुगेको थियो । आज त्यसभन्दा पनि तल झरेको हो ।

पश्चिमी वायुको प्रभावको कारण यतिबेला देशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदलीको अवस्था छ । आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा आज हल्का हिमपातकोसमेत सम्भावना छ । तराईका थोरै स्थानमा हुस्सु तथा कुहिरो लागेको छ । जसको कारण तराई मधेशका जिल्लामा चिसो बढेको छ ।

विभागका अनुसार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी पहाडी भू-भागमा आंशिक बदलीको अवस्था रहनेछ। तराईका भू-भागमा भने दिउँसो मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ । दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातकोसमेत सम्भावना छ ।

वर्षा, हिमपात तथा चिसोबाट हुन सक्ने असरबाट बच्नको लागि आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।