प्रधानमन्त्री मोदीविरुद्ध ‘इण्डिया’ गठबन्धनको उम्मेदवार खड्गे !

काठमाडौं । ‘इण्डिया’ गठबन्धनले आधिकारिक रुपमा प्रधानमन्त्रीको उम्मेदवार कसैलाई पनि घोषणा गरेको छैन । तर नयाँ दिल्लीमा बसेको बैठकमा पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले कांग्रेस अध्यक्ष मालिकार्जुन खड्गेको नाम प्रस्ताव गरिन्, जसलाई दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले समर्थन गरेको आम आदमी पार्टीका सांसद राघव चड्ढाले जानकारी दिए ।

गठबन्धनका दुई नेताले खड्गेको नाम आएपछि केही प्रश्न उठेको छ, के गठबन्धनले उनको नाममा सहमति जनाउने छ ? जनायो भने उनले नरेन्द्र मोदीलाई चुनौती दिन सक्छन् ?

८२ वर्षका खड्गे एक दलित नेता हुन् र पछिल्लो ५५ वर्षदेखि भारतको राजनीतिमा सक्रिय छन् । साधारण परिवारबाट आएका खड्गे कर्नाटकका हुन् । उनी १९६९ मा गुलबर्गा शहरमा कांग्रेस समितिको अध्यक्ष बनेका थिए । कर्नाटकमा लामो समय विधायक रहे र दुई पटक सांसद पनि चुनिए । उनी पछिल्लो ७/८ वर्षदेखि दिल्लीको राजनीतिमा सक्रिय छन् ।

भारतीय लोकतन्त्रमा अहिलेसम्म कुनै दलित नेता प्रधानमन्त्री बनेका छैनन् । त्यसैले खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव गर्नुलाई विपक्षीको दलित कार्ड पनि मानिएको छ ।

भारतको जनसंख्याको जातीय तथ्यांक छैन । तर अनुमानअनुसार भारतमा करिव २५ प्रतिशत दलित छन् । ‘इण्डिया’ गठबन्धनमा खड्गेको नाम प्रधानमन्त्रीको उम्मेदवारका रुपमा प्रस्ताव हुनुको कारणबारे वरिष्ठ पत्रकार विजय त्रिवेदी भन्छन्, ‘मालिकार्जुन खड्गे दलित नेता हुन् । अहिलेको राजनीतिमा मोदी एनडीएफको तर्फबाट एक ओबीसी अनुहार हुन् ।’

भारतमा दलित आरक्षण सिट ८४ छ । भारतीय जनता पार्टीसँग ४६ सिट छ, जसमा ४० प्रतिशत भोट पाएको छ ।

कांग्रेससँग जम्मा ५ सिट छ । उत्तर प्रदेशमा दलितका लागि १७ सिट आरक्षित छ, जसमध्ये १५ बीजेपीसँग छ भने दुई बीएसपीसँग छ ।

विजय त्रिवेदी भन्छन्, ‘बीजेपीले यसअघि रामनाथ कोविन्दलाई राष्ट्रपति बनाएर दलित कार्ड खेलिसकेको छ र यसको निकै फाइदा पनि उठायो । ओबीसीपछि दलित भोटर पनि बीजेपीसँग छ ।’

उनका अनुसार अहिले कांग्रेस निकै कमजोर छ । विधानसभा चुनावमा कांग्रेसले दलित भोट पाएको छ, तर बीजेपीको तुलनामा यो समीकरणमा अझै निकै कमजोर छ ।

‘मालिकार्जुन खड्गेलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर मात्र मोदीसँग प्रतिस्पर्धा गर्न सकिन्न । यो कुनै तुरुपको एक्का होइन’ विजय त्रिवेदीले भने, ‘तर प्रतिस्पर्धा रोचक हुनेछ ।’

– बीबीसी हिन्दीको सहयोगमा

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१