• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

आरती साह मृत्यु प्रकरण : श्रीमान् मोतीबाबु साह पक्राउ

काठमाडौं । आरती साह मृत्यु प्रकरणका आरोपित साहका श्रीमान मोतीबाबु साह पक्राउ परेका छन् । मोतीबाबुलाई आज बिहान जनकपुरको सीता चोकबाट धनुषा प्रहरीले पक्राउ गरेको हो ।

धनुषा प्रहरीका इन्सपेक्टर उपेन्द्र खरेलले मोतीबाबुलाई सूचनाको आधारमा जनकपुधाम वडा नम्बर १ मा रहेको सगुन ग्यालेक्सी होटलबाट पक्राउ गरिएको बताए। उनले पक्राउ परेका मोतीबाबुलाई सार्वजनिक विदा पछि अदालतमा पेश गरिने पनि बताए।

गत मङ्सिर २० गते सर्वोच्च अदालतका न्यायाधीश नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले आरतीका श्रीमानलाई थुनामा पठाउने आदेश दिएको थियो।

आरती गत जेठ ७ गते आफ्नै घर जनकपुरधाम उपमहानगरपालिका–९ थापाचोकमा मृत अवस्थामा फेला परेकी थिइन्।

आरतीले आत्महत्या गरेको भन्दै परिवारले प्रहरीलाई खबर गरेका थिए भने माइती पक्षले उनको हत्या भएको आरोप लगाएका थिए। माइती पक्षले जाहेरी दिएपछि प्रहरीले आरतीका पति मोतीबाबु साह र ससुरा मदनमोहन ब्याहुत सुडीलाई पक्राउ गरेको थियो।