• २०८३ असार १६
  • 2026 June 30, Tuesday

बालकुमारी घटनाः दोषीलाई कारबाहीको दायरामा ल्याउने गृहमन्त्रीको प्रतिबद्धता

काठमाडौं । गृहमन्त्री नारायणकाजी श्रेष्ठले बालकुमारीमा दुईजना युवकको ज्यान जाने गरी भएको घटनामा जोसुकै दोषी देखिए पनि कारबाही गर्ने प्रतिबद्धता जनाएका छन् ।

सोमबार सिंहदरबारमा बसेको राज्य, व्यवस्था तथा सुशासन समितिको बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले यस्तो प्रतिबद्धता जनाएका हुन् ।

सरकारले गठन गरेको उच्चस्तरीय आयोगले घटनाबारे छानबिन गरिरहेको भन्दै मन्त्री श्रेष्ठले जोसुकै दोषी देखिए पनि कानुनी दायरामा ल्याई कारबाही गर्ने प्रतिबद्धता जनाए ।

उनले भने, ‘सबै पक्षमा समितिले छानबिन गर्ने छ । त्यस क्रममा जोजो दोषी देखिन्छन् उनीहरुलाई कारबाहीको दायरामा ल्याइने छ । समितिको प्रतिवेदन कार्यान्वयन गर्न दृढतापूर्वक प्रतिबद्धता व्यक्त गर्दछु ।’

समितिका सदस्यहरुले सरकारले बनाउने आयोगको क्षेत्राधिकार र आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन नहुनेतर्फ आशंका व्यक्त गरेका थिए ।

सरकारले आजै उच्च अदालतका पूर्वन्यायाधीश शेखर पौडेलको अध्यक्षतामा पूर्व एआइजी अरुण बिसी र गृहमन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई रहने गरी तीन सदस्य रहेको जाँचबुझ आयोग गठन गर्ने निर्णय गरिसकेको छ । उक्त आयोगले एक महिनाभित्र प्रतिवेदन बुझाउनुपर्ने समयसीमा तोकिएको छ ।

गृहमन्त्री श्रेष्ठले मृतकको परिवारलाई १० लाख बाहेक अत्तिरिक्त आर्थिक सहयोग गर्ने साथै परिवारको एक सदस्यलाई रोजगारीको व्यवस्था गर्ने गरिने बताए ।

उनले भने, ‘राहतस्वरुप १० लाख रुपैयाँ दिने भनेको छौं । त्यो पर्याप्त भएन भन्नुभएको छ । त्यो नियमित रुपमा यस्ता घटना हुँदा सरकारले दिने गरेको १० लाख अन्तरर्गतको राहत कोष हो । परिवारलाई थप आर्थिक सहयोग गर्ने निर्णय गर्दैछौं । दुई परिवारको सदस्यका लागि रोजगारी व्यवस्था गर्ने कुरा पनि भइरहेको छ ।’