इजरायली हवाई आक्रमणमा थप ९० प्यालेस्टाइनीको मृत्यु

काठमाडौं । गाजामा क्षेत्रमा इजरायलले गरेको हवाई आक्रमणमा परि थप ९० जनाको मृत्यु भएको छ ।

बुधबार इजरायलले गरेका दुई अलग–अलग हवाई आक्रमणहरूमा थप ९० जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

सिन्ह्वा समाचार एजेन्सीको रिपोर्ट अनुसार, गाजास्थित स्वास्थ्य मन्त्रालयले इजरायलले गाजाको केन्द्रमा रहेको आवासीय क्षेत्रमा बमबारी गरेको जनाएको छ ।

उक्त आक्रमणमा भौतिक क्षति हुनुका साथै ५८ जनाको मृत्यु भएको छ ।

भवन ध्वस्त भएको छ र ५८ जनाको मृत्यु भएको छ । धेरै मानिसहरुआक्रमणमा परि कयौं घाइते भएका छन् ।

इजिप्टको सिमानामा रहेको रफाहमा रहेको एउटा भवन पनि इजरायली आक्रमणबाट ध्वस्त भएको थियो । उद्धारकर्मीहरूले भग्नावशेषबाट १५ जनाको शव निकालेका छन् ।

गाजाको स्वास्थ्य मन्त्रालयले दक्षिणी गाजा पट्टीको खान युनिस सहरमा इजरायली आक्रमणमा १४ जनाको मृत्यु भएको बताएको छ ।

गाजाको जबलिया सहरमा रहेको एउटा घरको भग्नावशेषबाट नागरिक रक्षा टोलीले पाँच जनाको शव र दर्जनौं घाइतेलाई निकालेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयले अक्टोबर ७ मा इजरायलले सुरु गरेको युद्धमा अहिलेसम्म २३ हजार प्यालेस्टिनी नागरिकको मृत्यु भएको जनाएको छ ।

५० हजारभन्दा बढी घाइते भएका छन् । यी संख्यामध्ये आधाभन्दा बढी बालबालिका र महिला छन् । गाजा पट्टीमा पनि ठूलो संख्यामा विस्थापन भइरहेको छ । गाजाका करिब २३ लाख जनसंख्याको ८० प्रतिशतभन्दा बढीले सुरक्षित स्थानमा शरण लिनु परेको छ । यो लडाई इजरायलमा अक्टोबर ७ मा हमासको हमलापछि सुरु भएको हो । यस हमलामा करिब १२०० जनाको मृत्यु भएको थियो । त्यसयता इजरायलले गाजा पट्टीमा लगातार बम वर्षा गरिरहेको छ । इजरायलले हमासलाई लक्षित गरी हमला गरिरहेको र यसलाई पूर्ण रूपमा ध्वस्त गरेर मात्र युद्ध रोक्ने बताएको छ । अर्कोतर्फ, हमासले इजरायलले गाजाका आवासीय भवन, विद्यालय र अस्पताललाई लगातार निशाना बनाएको जनाएको छ ।

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१