काठमाडौं । काठमाडौं उपत्यकाबाट प्रहरीले नक्कली डाक्टरलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले नक्कली डाक्टरको आरोपमा ४० वर्षीय सम्बुद्ध भट्टाचार्यलाई नियन्त्रणमा लिएको हो ।
कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार भट्टाचार्यलाई सोमबार नियन्त्रणमा लिइएको हो ।
प्रहरीका अनुसार भट्टाचार्यले धौलागिरि पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए । भट्टाचार्य मोरङको विराटनगर महानगरपालिका वडा नम्बर २ का हुन् ।
उनले अहिलेसम्म ४० जना बिरामीलाई उपचार गराएको प्रारम्भिक बयान दिएका छन् ।
उनले चीनबाट एमबिबिएस गरेको र शिक्षण अस्पताल महाराजगञ्जमा कार्यरत रहेको बताउने गरेका थिए । प्रहरीका अनुसार उनले विदेश जाने व्यक्तिको मेडिकल रिपोर्टसमेत बनाउने गरेका थिए ।
उनले नक्सालस्थित ‘वी केयर’ मा पनि काम गर्ने गरेको बताएको प्रहरीले जनाएको छ ।
उनले नेपाल मेडिकल काउन्सिलको नक्कली दर्ता प्रमाण पत्र देखाएर पोलिक्लिनिक सञ्चालन गर्दै आएका थिए । उनले यस्तो काम गरेको तीन वर्ष भएको पनि बयान दिएका छन् ।
उनीमाथि प्रहरीले इलाजसम्बन्धी र लिखतसम्बन्धी कसुरमा मुद्दा चलाउने प्रहरीको तयारी छ ।