हामीहरुमाथि चौतर्फी आक्रमण भयो : अध्यक्ष लिङ्देन

  • हुलाक सञ्चार
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष राजेन्द्र लिङ्देनले फरक विचार र सिद्धान्त वोकेकै कारण आफूमाथि चौतर्फी आक्रमण भएको बताएका छन् ।

    मंगलबार विश्व हिन्दु महासंघ नेपाल राष्ट्रिय समिति वाँसबारीका पूर्वसभापति स्वर्गीय नीलप्रसाद भण्डारीको चौथो वार्षिक स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित ‘राष्ट्रियता र धार्मिक सहकार्यका लागि भावि मार्गचित्र’कार्यक्रममा बोल्दै अध्यक्ष लिङ्देनले फरक बिचार र सिद्धान्तकै कारण सरकारले समेत आफ्नो पिछा गरेको बताए ।

    उनले भने,‘मलाई कुनै अभियोग छैन । मैंले समाजको कुनैपनि एक जनालाई पीडा पुर्याएको भन्ने अभियोग छैन । मैंले एक रुपैयाँ कहींबाट लिएको भन्ने अभियोग पनि छैन । केवल आस्थाको आधारमा, फरक बिचार भएको आधारमा हजारौं मान्छे एकैसाथ आक्रमणमा उत्रिए । यसमा सरकार समेत संलग्न छ ।’

    आफू दुई पटक कालको मुखबाट फर्किएर आएको बताउँदै उनले नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीको भोगाई समेत आफूलाई थाहा भएको प्रतिक्रिया दिए ।

    अध्यक्ष लिङ्देनले राजनीतिमा सबै मान्छेहरु नराम्रा नहुने भन्दै राम्रा मान्छेहरुको प्रवेशका कारण विकासको कामले विस्तारै गति लिरहेको बताए ।

    धर्म र राजनीतिलाई सँगसँगै लैजानुपर्छ भन्ने मान्यतासाथ आफुहरु अघि बढिरहेको भन्दै उनले भने, ‘धर्म र राजनीति साँगसँगै लैजानुपर्छ भनेर हामीहरु लागिपरेका छौं । कति मानिसहरुले धर्म र राजनीतिको कुरागर्दा धर्ममा राजनीति घुसाए भनेर गाली गरिरहेका छन् ।’ धर्म बिनाको राजनीति र राष्ट्रियता नहुने भन्दै उनले राजनीतिमा धर्म नहुँदा हालको परिणाम देखिरहेको बताए ।

     

    © 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१