• २०८३ साउन ६
  • 2026 July 22, Wednesday

नेपाल बैंक र ॐ समाज डेन्टल हस्पिटलबीच सम्झौता : ग्राहक र कर्मचारीलाई उपचारमा विशेष छुट

काठमाडौं । नेपाल बैंक लिमिटेड र ॐ समाज डेन्टल हस्पिटल प्रा.लि बीच बैंकका ग्राहक तथा कर्मचारीहरूलाई उपचारमा विशेष छुट दिने सम्बन्धमा सम्झौता भएको छ।

गएको असार ८ गते भएको यस सम्झौता अनुसार अब नेपाल बैंकमा खाता रहेका ग्राहक र बैंकका कर्मचारीहरूले ॐ समाज डेन्टल हस्पिटलका विभिन्न शाखाहरूमा दन्त उपचार गराउँदा आकर्षक छुट पाउनेछन्।

सम्झौता पत्रमा बैंकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत दीपेन्द्र राज काफ्ले र हस्पिटलका तर्फबाट प्रमुख प्रशासकीय अधिकृत बिजेन्द्र लालले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार बैंकका ग्राहक र कर्मचारीहरूले हस्पिटलमा बिरामी दर्ता र चेकअप शुल्कमा १०० प्रतिशत अर्थात् पूर्ण रूपमा छुट पाउनेछन्। यसकासाथै अस्पतालले प्रदान गर्ने अन्य विविध सेवाहरूमा १५ देखि २५ प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ। यो सुविधा काठमाडौंको चाबहिल, नैकाप, वनस्थली, सातदोबाटो र महोत्तरीको बर्दिबासमा रहेका ॐ समाज डेन्टल हस्पिटलका शाखाहरूबाट लिन सकिनेछ।

यस सहकार्यले बैंकसँग आबद्ध व्यक्तिहरूलाई उच्च स्तरीय र गुणस्तरीय दन्त स्वास्थ्य सेवामा सहुलियत दरमा पहुँच पुर्‍याउने विश्वास लिइएको छ।

नेपालको पहिलो बैंकको रूपमा चिनिने नेपाल बैंक लिमिटेडले हाल देशभर २३१ शाखा, २४६ एटीएम र ५८ वटा एक्सटेन्सन काउन्टरमार्फत आफ्ना करिब २७ लाख ग्राहकहरूलाई आधुनिक बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ।