गहना लुट्न महिलाको हत्या भएको खुलासा

विराटनगर । संखुवासभाको खाँदबारीमा मृत फेला परेकी एक महिलाको हत्या गहना लुट्ने उद्देश्यले भएको खुलासा भएको छ ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारमा माघ ६ गते स्थानीय ६२ वर्षीया दिलकुमारी घिमिरे मृत फेला परेकी थिइन् ।

उनले कानमा लगाएको सुनको गहना लुट्नका लागि हत्या भएको प्रहरीले अनुसन्धानबाट पत्ता लगाएको हो ।

प्रहरीका अनुसार घटनास्थलदेखि १५० मिटर टाढाको झाडीमा रगत लागेको बञ्चरो र मृतकले प्रयोग गर्ने मोबाइल तथा मृतकले पैसा राख्न प्रयोग गरेको थैली फेला भेटिएको थियो ।

घटना शंकास्पद देखेपछि प्रहरीले सुक्ष्म अनुसन्धान गरेको थियो । त्यस क्रममा घटनामा संलग्न रहेको आशंकामा सुनसरी धरान जिरोपोईन्ट ठेगाना बताउने ३० वर्षका दिपेन राई भन्ने आकास राईलाई माघ ११ गते पक्राउ गरिएको थियो ।

उनी केही महिनादेखि खाँदबारी तुम्लिङटार बजारक्षेत्रमा कोठा बहाल लिई ज्याला मजदुरी गर्दै आएका थिए ।

राईले घिमिरेलाई बञ्चरो प्रहार गरी हत्या गरेको र उनले कानमा लगाएको २ थान सुनको रिङ जस्तो देखिने धातु चोरी गरेको प्रहरीले जनाएको छ ।

उक्त गहना धनकुटाको पाख्रीवास–४ बुद्धचोकमा रहेको रुपकला ज्वेलर्समा ४७ हजारमा बिक्री गरेको प्रहरीले पत्ता लगाएको थियो ।

संखुवासभा प्रहरीका सूचना समन्वय अधिकृत अशोककुमार जबेगुका अनुसार उक्त गहना बरामद गरिएको छ । गहना किनबेचमा संलग्न देवबहादुर र धनमायालाई पनि पक्राउ गरेको प्रहरीले जनाएको छ ।

हत्या अभियोगमा राई तथा गहना किनबेचमा संलग्न अरु दुईजनाका बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१