प्रधानमन्त्री कप : उपाधिको लागि पुलिस र आर्मीको प्रतिस्पर्धा

काठमाडौं । प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय प्रतियोगिताको फाइनलमा आज नेपाल पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।छैटौं संस्करणको फाइनल खेल आज बिहान ९ : १५ बजे टियु क्रिकेट मैदानमा सुरु भएको छ । पुलिस र आर्मीले उपाधिका लागि भिडदै छन् ।

अपराजित पुलिसले लिगका सबै ९ खेल जितेर शीर्ष स्थानमा रहँदा ९ खेल खेलेको आर्मीले ७ खेलमा जित र २ मा हारसहित दोस्रो स्थानमा छ ।पुलिसको दीपेन्द्रसिंह ऐरी र आर्मीको विनोद भण्डारीले खेलको कप्तानी गर्नेछन् ।
आर्मीका कप्तान विनोदले यस प्रतियोगितामा आफ्नो दुई शतक पुरा गरिसकेका छन् ।

२०१७ को प्रधानमन्त्री कप फाइनलमा वर्षाको कारण पूरा खेल हुन नसकेपछि यी दुवै टोलीले अंक बाँडेका थिए । २०१९ मा पुलिस र २०२१ मा आर्मीले उपाधि जितेका थिए । सबै ६ संस्करणमा फाइनल खेल्ने आर्मी एक्लो टोली पनि हो ।
प्रतियोगिता विजेताले १० लाख र उपविजेताले ५ लाख पुरस्कार प्राप्त गर्नेछन् । सर्वोत्कृष्ट खेलाडीले ५० हजार, उत्कृष्ट ब्याटर र बलरले समान २० हजार तथा उदीयमान खेलाडीले १० हजार रुपैयाँ पाउने व्यवस्था छ ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१