पाकिस्तानको चुनावमा अमेरिकी नजर

काठमाडौं । पाकिस्तानमा यही फेब्रुवरी ८ मा आमनिर्वाचन हुँदैछ । पाकिस्तानी आमचुनावमा अमेरिकासहित विश्वका धेरैजसो देशको नजर छ । यसैबीच अमेरिकी विदेश मन्त्रालयले पाकिस्तानको आमचुनावालई नजिकबाट नियालिरहेको जनाएको छ ।

‘पाकिस्तानमा हुने आमचुनावलाई नजिकबाट अनुगमन गरिरहेका छौँ । अभिव्यक्ति स्वतन्त्रता र कानुनी अधिकारको उल्लंघनप्रति हाम्रो चिन्ता छ,’ सोमबार अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत् भनेको छ ।

अमेरिकाले पाकिस्तानी जनतालाई आफ्नो मौलिक अधिकार प्रयोग गरेर भावी नेता छान्ने अधिकार हुनुपर्नेमा जोड दिएको छ ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता वेदान्त पटेलले पत्रकार सम्मेलनमा भने, ‘हामीले पाकिस्तानको चुनावी प्रक्रियालाई नजिकबाट नियालिरहेका छौं । हामी यसमा धेरै भन्दा धेरै मानिसहरूको सहभागिता होस् भन्ने चाहन्छौं र अभिव्यक्ति स्वतन्त्रता र विधायिका अधिकारको सम्मान हुनुपर्छ भन्ने चाहान्छौँ ।’

उनले अमेरिकाले चुनावका बेला हिंसाका घटनाहरू नचाहेको र मिडिया स्वतन्त्रतामा प्रतिबन्ध नलगाउन समेत आग्रह गरेको बताए । ‘हामी मिडिया स्वतन्त्रतामा प्रतिबन्ध र इन्टरनेट स्वतन्त्रतामा प्रतिबन्धको विरुद्धमा छौं । पाकिस्तानका जनतालाई आफ्नोे मौलिक अधिकार प्रयोग गरेर आफ्नो भावी नेता चुन्ने अधिकार छ र यसका लागि निर्वाचन स्वतन्त्र, निष्पक्ष र कुनै डरविना हुनुपर्छ,’ पटेलले भने ।

पाकिस्तान हाल विश्वमा पाँचौँ धेरै जनसंख्या भएको देश हो । पाकिस्तानको जनसंख्या हाल २४१.५ मिलियन छ । यहाँ पुरुष मतदाताको संख्या ६.९ करोड छ भने महिला मतदाताको संख्या ५.९ करोड छ । मतदानको उमेर १८ वर्ष छ ।

पाकिस्तानमा ९६ प्रतिशत मतदाता मुस्लिम, १.५९ प्रतिशत इसाई, १.६ प्रतिशत हिन्दू र ०.५ प्रतिशत अन्य छन् । पाकिस्तानको चुनावमा २६६ सिटका लागि ५ हजार १२१ जना उम्मेदवार चुनावी मैदानमा छन् ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१