क्यानडाविरुद्ध एकदिवसीय सिरिजमा नेपालको ‘क्लिन स्विप’, अनिल साह र भीम सार्कीकाे शतक

काठमाडौं । नेपालले क्यानडाविरुद्धको तीन खेलको एकदिवसीय सिरिज क्लिन स्विप गरेको छ । नेपालले साेमबार भएको तेस्रो खेलमा ९ विकेटको जित निकाल्दै सिरिज क्लिन स्विप गरेको हो ।

क्यानडाले दिएको २३३ रनको लक्ष्य पछ्याएको नेपालले ४४ ओभर ३ बलमा १ विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा भीम सार्की र अनिल शाहले कीर्तिमानी साझेदारी गरे । दुवैले शतक प्रहार गरे । ४५ रनमा पहिलो विकेट गुमाएको नेपाललाई भीम र अनिलले जितसम्म डोहोर्‍याए ।

अनिल ११२ र भीम १०१ रनमा अविजित रहे । कुशल भुर्तेलले १३ रनको योगदान दिएका थिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको क्यानडाले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २३२ रन बनाएको थियो ।

नेपालले पहिलो खेलमा ७ रन र दोस्रो खेलमा ४ विकेटको जित निकालेको थियो ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१