‘उपहार’ सबैले ग्रहण गर्ने उपहार हो : रेखा थापा

काठमाडौं । यही फागुन २५ शिवरात्रीको छेको पारेर प्रदर्शनमा आउन लागेको फिल्म ‘उपहार’को निर्माण टिम यतिबेला प्रोमोसनमा व्यस्त छ ।

फिल्मकी अभिनेत्री तथा निर्मात्री रेखा थापाले नेपाली फिल्म क्षेत्रका सबै कलाकारहरुको एकतामा बनेको फिल्म भएकाले उपहारलाई दर्शकहरुले औधी मन पराउने दाबी गरेकी छिन्।
अभिनेत्री समेत रहेकी थापाले फिल्म ‘उपहार’ हरेक क्षेत्र, उमेर र वर्गका लागि उपहार बनेको बताइन् ।

उनले भनिन्, ‘फिल्म फिल्म जस्तै हुनुपर्छ । हामीले एउटा राम्रो फिल्म बनाउने कोशिस गरेका छौं । सबै कलाकारहरु एउटै ढिक्कामा बसेर गरेको कामलाई दर्शकले मन पराउनुहुन्छ भन्ने हामीलाई लागेको छ । फिल्म हरेक क्षेत्र, वर्ग र उमेरका लागि बनेको हो।’

फिल्मकी निमात्री समेत रहेकी नायिका थापाले फिल्म सुटिङको अनुभव सुनाउँदै सेटमा काम गर्दैगर्दा फिल्ममा आवद्ध अन्य कलाकारबाट अझ धेरै नै सिक्न पाएको बताइन् ।
अहिलेकी चर्चित नायिका पूजा शर्मासँगै बोलेकी थापाले आफूले फिल्मको काम गर्दैगर्दा निर्मात्री हुँ जस्तो अनुभव नभएको बताइन् ।

उनले भनिन्,‘चलचित्रमा पनि एक कलाकार भएर काम गरें । अन्य कलाकारहरुबाट मैंले धेरै कुराहरु सिक्ने अवसर पाएँ । कहिले पनि म प्रोड्युर हुँ भन्ने फिल भएन । आफैं कहिलेकाहीँ सुटिङमा ढिला पुगिरहेको हुन्थें । पूजा शर्मा, बेनिसा हमाल र मुकुन भुषालहरु जस्ता कलाकारहरुसँग काम गर्दा आफूलाई कलाकारकै रुपमा अनुभुत गरें ।’

कुराकानीका क्रममा अधिकतम समय अभिनेत्री पुजा शर्माको प्रशंसा गरेकी थापाले शर्मालाई मार्केट बुझेको कलाकारका रुपमा परिभाषित गरिन् ।

वर्तमान नेपाली समयमा एकल महिलाले भोग्नुपरेको कथालाई स्पष्ट र सुन्दर तरिकाले देखाउनु नै फिल्मको सुन्दर पक्ष रहेको उनको भनाई थियो । थापाले अहिले पनि नेपाली चलचित्र उद्योगमा कलाकार तथा निर्देशकले एकअर्कालाई असहयोग गरेकै कारणले अगाडि बढ्न नसकेको बताइन् ।
ज्ञानेन्द्र देउजाको निर्देशन रहेको फिल्ममा रेखा थापा, मुकुन भुषाल, पूजा शर्मा, बेनिशा हमाल, तेज गिरी, समर्पण जंग कार्की, सुष्मा कार्की, अंशु महर्जन, आशा भुषाललगायतको अभिनय छ ।

रेखा फिल्मस् र कपनगढी सिनेमा प्रालिको ब्यानरमा निर्माण गरिएको फिल्ममा सुलभ प्रतीक देउजा र समीक्षा देउजा निर्माता छन् । फिल्मको कार्यकारी निर्माता रेखाका श्रीमान बलराम शाही ठकुरी हुन् ।

फिल्ममा विष्णु कल्पित घिमिरेको छायांकन, अर्जुन पोखरेल र बाबुल गिरीको संगीत, प्रमोद ढुंगाना, शंकर अधिकारी ‘घायल’ र मुक्त उदासको गीत, मित्र डि गुरुङको सम्पादन, सुलक्षण भारतीको कथा, अभिमन्यु निरवी र माधव शर्माको पटकथा तथा संवाद, अनुपम गौतमको भीएफएक्स र रोशन श्रेष्ठको द्वन्द्व रहेको छ । फिल्मलाई रिच इन्टरटेनमेन्ट र एफडी कम्पनीले वितरण गर्दैछन् ।

 

© 2025 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१