• २०८३ असार १५
  • 2026 June 29, Monday

भुटानका राजनीतिक बन्दीलाई तत्काल रिहाइको माग

काठमाडौं । भुटानका राजनीतिक दलहरुले बन्दी बनाएका परिवारले विगत केही वर्षदेखि भुटानी जेलमा रहेका आफ्ना परिवारका सदस्यलाई तत्काल रिहा गर्न माग गर्दै आएका छन् ।भुटानी राजनीतिक बन्दीका परिवारका तर्फबाट राजनीतिक बन्दी ओमनाथ अधिकारीकी आमा डम्बर कुमारीले मानवअधिकारका लागि दक्षिण एसियाली महासंघ (एसएएचआर)का कार्यकारी निर्देशक दीक्षा इलाङ्सिङ्घेलाई ज्ञापन बुझाएकी छिन् ।

पूर्वी नेपालको बेलडाँगीस्थित शरणार्थी शिविरमा बस्दै आएकी अधिकारीले भुटानका विभिन्न जेलमा रहेका सबै भुटानी राजनीतिक बन्दीहरूको छिट्टै रिहाइका लागि इलाङ्सिङ्घेलाई सहयोग गर्न आग्रह गरेकी हुन् ।राम कार्कीले परिवारको तर्फबाट र भुटानमा राजनीतिक बन्दीहरूको रिहाइका लागि ग्लोबल क्याम्पेनको संयोजकको हैसियतमा ज्ञापनमा हस्ताक्षर गर्दै सहजीकरणका लागि आग्रह गरेका छन् ।

ह्युमन राइट्स वाच र जिसीपिपिबीले गरेको संयुक्त अनुसन्धान अनुसार हाल भुटानको विभिन्न कारागारहरूमा ३५ भुटानी राजनीतिक कैदीहरू रहेका छन् ।भुटानमा सन् १९९० देखि २००८ सम्मको विभिन्न राजनीतिक क्रियाकलापमा संलग्न भएको आरोपमा बन्दी बनाइएका हुन् ।बन्दीहरुले भुटानमा सन् २००७ मा संवैधानिक राजतन्त्रको व्यवस्थासँगै आममाफी दिएर मुक्त गरिने आशा गरिए पनि उनीहरु अहिलेसम्म बन्दी जीवन बिताउन बाध्य बनाइएको छ ।