
बारा । बाराको निजगढ बजारमा सोमबार भएको शंकास्पद वस्तु विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।
स्थानीय रेशम मगरले सञ्चालन गरेको रोहित वर्कसप लेथमा ग्यास वेल्डिङ गर्नेक्रममा विष्फोट हुँदा मगरसहित तीजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा निजगढ नगरपालिका–५ बस्ने वर्कसपका सञ्चालक मगर, भारत बिहारको गवाई बस्ने ३५ वर्षीय राकेश जैसवाल र पर्साको वीरगञ्ज महानगरपालिका–९ बस्ने २० वर्षीय रितु रजत रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपानेले बताए ।
तीनैजनाको उपचारको क्रममा मृत्यु भएको हो । प्रहरीले सोमबार प्रारम्भिक अनुसन्धानको क्रममा ग्यास सिलिण्डर विस्फोट हुँदा घटना भएको बताएको थियो । यद्यपि अनुसन्धान गर्ने क्रममा एक्सप्लोजन हुने अर्को शंकास्पद वस्तु विष्फोट भएको खुलेको प्रहरीकाे भनाइ छ ।
घटनामा घाइते भएका थप तीनजनाको अवस्था गम्भीर छ। निजगढ नगरपालिका– ५ बस्ने ४५ वर्षीय सूर्यबहादुर थापा, वीरगंज महानगरपालिका–९ बस्ने ३४ वर्षीय फिरोद देवान, विहार रामघडवा बस्ने २० वर्षीय अरविन साह घाइते छन् ।
विष्फोटको घटनामा संलग्न रहेको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ । बिहारको मोतिहारी बस्ने ४० वर्षीय राज भन्ने रमेश जैसवाल र निजगढ नगरपालिका–९ बस्ने २९ वर्षीय टीकाराम पाख्रिनलाई पक्राउ गरेको प्रहरीले जनाएकाे छ ।