नेदरल्यान्ड्सले जित्यो त्रिकोणात्मक टी-२० सिरिज

काठमाडौं । त्रिकोणात्मक टि२० सिरिजको उपाधि नेदरल्यान्ड्सले जितेको छ । फाइनलमा नेपाललाई ४ विकेटले हराउँदै नेदरल्यान्ड्सले उपाधि जितेको हो ।

टियु क्रिकेट मैदानमा नेपालले प्रस्तुत गरेको १ सय ८५ रनको लक्ष्य नेदरल्यान्ड्सले ६ विकेट गुमाएर अन्तिम ओभरमा पूरा गरेको हो ।

नेदरल्यान्ड्सका लागि ओपनर माइकल लेभिटले अर्धशतक बनाउँदा साइब्रान्ड एंगलब्रेक्टले ४८ रनको आक्रामक इनिङ खेले । एंगलब्रेक्टले २९ बलमा ४ चौका र ३ छक्का बनाएका थिए । उनले १८ औं ओभरमा लगातार २ छक्का र २ चौका प्रहार गर्दै खेलमा महत्त्वपूर्ण भूमिका निर्वाह गरे ।

त्यसअघि पहिलो विकेटका लागि माइकल लेभिट र म्याक्स ओडाउडले ८३ रनको आक्रामक साझेदारी गर्दै पाहुना टोलीलाई राम्रो सुरुवात दिलाए । नवौं ओभरमा कुशल मल्लले दुवैलाई आउट गर्दै नेपाललाई खेलमा फर्काएका थिए ।

नेपालका लागि सर्वाधिक योगदान दिएका ओपनर आसिफ शेख अर्धशतकबाट चुके । ४७ रनमा माइकल लेभिटको एलबीडब्लु धरापमा परेका उनले ३७ बलमा १ चौका र ३ छक्का प्रहार गरे । उनी १४ औं ओभरको चौथो बलमा पेभेलियन फर्किएका थिए ।

गुलशन झाले २५ बलमा ३ छक्कासहित ३४ रनको योगदान दिएका थिए । उनी सातौं विकेटको रुपमा १९ औं ओभरमा आउट भएका थिए ।

नेपालले टस जितेर पहिलो ब्याटिङ रोजेको थियो । नेपालले आज टोलीमा कुनै परिवर्तन गरेको थिएन ।

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१