• २०८३ असार ३२
  • 2026 July 16, Thursday

आज तराईमा हर्षोल्लासका साथ होली मनाइदैँ

काठमाडौं । आज तराईका जिल्लामा हर्षोल्लासका साथ होली पर्व मनाईंदैछ । काठमाडौं उपत्यकासहित पहाडी र हिमाली क्षेत्रमा हिजो आईतबार मनाईएको होली आज तराईमा मनाइदैँछ ।

आज तराईका २१ जिल्लाहरू झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी (बर्दघाट सुस्तापूर्व), नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुरमा होली पर्व मनाइदैँछ ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाइदैछ । होली पर्वको अवसरमा सरकारले आज तराईका जिल्लाहरुमा विदा दिएको छ भने प्रहरीले होली पर्वलाई मर्यादित, सुरक्षित र शान्तिपूर्ण बनाउन अनुरोध पनि गरेको छ ।

तराईका बासिन्दाको बसोबास रहेका काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रका कतिपय ठाउँमा आज पनि होलीको रौनक छ ।

त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यो पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली खेल्ने परम्परा चलेको मानिन्छ ।