ढोलाहिटी हत्या प्रकरणः दुई समूहबीच तिहारदेखि नै थियो रिसइबी, जोगाउन खोज्दै थिए पुजन

काठमाडौं । आइतबार ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डी–पोपिना रेस्टुरेन्टमा युवाहरुको समुहबीच विवाद हुँदा दुई जनाको मृत्यु भयो । सो घटनामा पाँचथरको मिक्लाजुङ गाउँपालिका–६ घर भइ ललितपुर बस्दै आएका २७ वर्षीय पुजन राई र सुनसरीको धरान उपमहानगरपालिका–१३ घर भइ ललितपुर बस्दै आएका २८ वर्षीय रेबस राईमाथि चक्कु प्रहार गरी हत्या गरिएको थियो । आइतबार राति १० देखि साढे १० बजेको समयमा भएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ ।

मंगलबार पत्रकार सम्मेलन गर्दै घटनामा संलग्न व्यक्तीहरुलाई नियन्त्रणमा लिएका छौँ र नियन्त्रणमा लिएका मध्ये पाँच जनाविरुद्ध कर्तव्य ज्यानमारा मुद्दा चलाइने जिल्ला प्रहरी परिसर ललितपुर प्रहरीले जनाएको छ । पक्राउ परेका ४ जनालाई मंगलबार प्रहरीले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको छ । यस्तै एक जना फरार रहेका प्रतिवादीको खोजी कार्य भइरहेको ललितपुरका एसएसपी शेखर खनालले बताए ।

उक्त घटनामा संलग्न व्यक्तीलाई पत्रकार सम्मेलन गर्दै प्रहरीले मंगलवार सार्वजनिक गरेको हो । जिल्ला प्रहरी परिसर ललितपुरले पक्राउ गरेका चार र फरार एकजना गरी पाँच जनाविरुद्ध मुद्दा चलाउने प्रहरीको निष्कर्ष छ ।

सो घटनामा पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डी–पोपिना रेस्टुरेन्टका सञ्चालक खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भइ ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राइ लगाएत अन्य दुइ जना साकेला गाउँपालिका–२ रतन्छाका घर भइ ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई र भुपाल राई रहेका छन् ।

यी ३ जना सञ्चालक लगाएत अन्य दुई २ जना भोजपुरको ट्याम्केमयुङ गाउँपालिका–२ अन्नपूर्ण घर भइ ललितपुर जैनखेल बस्ने ३८ वर्षीय विशाल हाङ मुकारुङ राई र काठमाडौंको गोकर्णेश्वर नगरपालिका–११ घर भइ ललितपुर महालक्ष्मी नगरपालिका–६ सानागाउँ बस्ने २५ वर्षीय छेङ्वीहाङ राई गरी ४ जनाविरुद्ध कर्तव्य ज्यानको कसुरमा जिल्ला अदालतबाट म्याद लिएर प्रहरीले अनुसन्धान सुरू गरेको पत्रकार सम्मेलनमा बोल्दै ललितपुरका एसएसपी शेखर खनालले बताए ।

आइतवार राति चक्कु प्रहारबाट गम्भीर घाइते भएका रेबसलाई उपचारका लागि स्कुटरमा राखेर पाटन अस्पताल र पुजनलाई ट्याक्सीमार्फत सुमेरु अस्पताल पु¥याइएको थियो । दुवै जनाको मृत्यु भएपछि राति ११ बजे घटनाबारे जिल्ला प्रहरी परिसर ललितपुरले जानकारी पाएको थियो । त्यसपछि अनुसन्धानमा खटिएको प्रहरी टोलीले सोमबार बिहान साढे ४ बजेको समयसम्म १८ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरू गरिसकेको थियो ।

पक्राउ परेका रेस्टुरेन्ट सञ्चालक विजय राइ, सुलभ राइ र विशाल र छेङ्वीहाङराइविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका बाँकी ८ जनाको हकमा अहिले अभद्र व्यवहारको कसुरमा म्याद लिएर अनुसन्धान भइरहेको प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ । अनुसन्धानको क्रममा कर्तव्य ज्यानको कसुरमा संलग्न रहेको देखिए उनीहरूलाई पनि कर्तव्य ज्यानको कसुर मुद्धा चलाइने भएको छ ।

प्रहरीले फरार प्रतिवादी बनाइएका व्यक्तिले हत्याको मुख्य व्यक्ति भनिएका विजयलाई मोटरसाइकलमा राखेर नारायणस्थान पु¥याएको खुलेको छ । बिहानीपख पैसा लिन भन्दै घर आएको बेला विजय पक्राउ गरेका थियो । फरार व्यक्ति घटना भएको बेला खाजा घरमा उपस्थित भएको र हत्यापछि विजयलाई भगाउनसमेत सहयोग गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

पक्राउ परेका डी–पोपिना रेस्टुरेन्टका सञ्चालक विजयले नै चक्कु प्रहार गर्दा २ युवाको मृत्यु भएको परिसरका एसएसपी शेखर खनालको भनाइ छ । विवाद भएपछि भन्सामा भएको चक्कु निकाली विजयले प्रहार गरेका थिए । रेस्टुरेन्टका अर्का सञ्चालक सुलभले भने प्रमाण नष्ट गर्ने काम गरेको अनुसन्धानबाट खुलेको छ । उनले घटनास्थलको रगत धोइपखाली प्रमाण नष्ट गर्ने काम गरेको र नियोजित रूपमा घटनालाई लुकाउने प्रयास गरेको अनुसन्धान अधिकारीहरूले बताए ।

अहिलेको घटनालाई प्रहरीले आवेश प्रेरित घटना भएको बताएको छ । पुरानो रिसइबी भए पनि हत्या गर्ने कुनै योजना नभएको प्रहरीको प्रारम्भिक बुझाइ छ । मदिरा सेवनपछिको आवेशमा हत्या भएको ललितपुर प्रहरी परिसरका एसपी तथा प्रवक्ता नरेश सुवेदीले बताए ।

२ समूहबीच गत तिहारदेखि रिसइबी भए पनि होलीको राति आवेशमा हत्या भएको प्रहरीको भनाइ छ । गत तिहारमा साहिल श्रेष्ठले छेङ्वीहाङ राईलाई होच्याउने खालका शब्द बोलेपछि २ समूहबीच विवाद भएको थियो । अहिले यी दुवै जनालाई प्रहरीले पक्राउ गरेको छ । साहिलमाथि अभद्र व्यवहारको कसुरमा अनुसन्धान अघि बढाइएको छ भने छेङ्वीहाङविरुद्ध कर्तव्य ज्यानको कसुरमा अनुसन्धान सुरू गरिएको छ । यो घटना हुनुभन्दा करिब २ महिनाअघि पनि यी २ समूहबीच विवाद भएको देखिएको छ ।

होलीको दिन छेङ्वीहाङ राइ, नाम्नु राई, विराट राई, अनन्त राई, रेबस राईसँगै बसेर दिउँसैदेखि मदिरा सेवन गरेका थिए । साँझपख भने रेबस आफ्नो घर फर्किएका थिए । रेबस घर गएपछि विजय राई, सुलभ राई, विशाल हाङ मुकारुङ राई र राजु गुरुङलगायतका १० र ११ जना बसेर डी–पोपिना रेस्टुरेन्टमा मदिरा सेवन गरेका थिए । रेबस घर गए पनि उनको समूह राति साढे ८ बजेतिर डी–पोपिना रेस्टुरेन्टमा गएर पुरानो कुरा निकाल्दै निहुँ खाजेको अनुसन्धानबाट खुलेको एसएसपी खनालले बताए । त्यसपछि छेङ्वीहाङले राति ९ बजेर ५८ मिनेटमा रेबसलाई फोन गरेर घटनाबारे जानकारी गराउँदै बोलाएका थिए। रेबस सहितको टोली होटलमा पुगेर विवादमा उत्रिएपछि घटनाले उग्ररूप लिएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

रेबसलाई विजयले चक्कु प्रहार गर्न लाग्दा त्यसो नगर्न भन्दै चक्कु खोस्न पुगेका विजय समूहका पुजनको तिघ्रामा चक्कु लागेको थियो । तिघ्रामा चोट लागेर अत्यधिक रक्तस्राव हुँदा पुजनको ज्यान गएको प्रहरीको भनाइ छ । विजयकै चक्कु प्रहार रेबसको छातीमा लागेको थियो ।

प्रहरीले घटनास्थलबाट चक्कु, रगत लतपतिएको ज्याकेट, चप्पललगायत सामग्री बरामद गरेको प्रहरीले बताए । घटनाका मुख्य प्रतिवादी विजय राइलाई यसअघि लागूऔषधको कसुरमा २०७५ सालमा प्रहरी वृत्त थानकोटले पक्राउ गरेको थियो । त्यतिबेला २ वर्ष जेल बसेर उनी २०७७ सालमा कारागारमुक्त भइ रेस्टुरेन्ट खोलेका थिए ।

सो घटना सम्बन्धि सञ्चार माध्यममा छापिएका समाचारमा पीडित पक्षले असन्तुष्टि जनाएका छन् । मंगलवार हुलाक सञ्चारसँगको कुराकानीमा मृतक पुजन राइका आफन्तले भने, ‘ग्याङ्फाइटमा मृत्यु भयो। जाडरक्सी र धुम्रपान गरी झगडा गरेको कुरा सत्य नभएको बताएका छन् ।’ ‘पुजन राइ निर्दोष हो । उनी विवादित व्यक्तिहरुलाइ शान्त गराउन गएको मात्रै हो ।’ पुजन राइका आफन्तले भने ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१