नेपालले गुजरातलाई ८ विकेटले हरायो

काठमाडाैं । नेपालले एसएमएस फ्रेन्डसिप कपको पहिलो खेलमा गुजरात क्रिकेट एसोसिएसनलाई पराजित गर्दै विजयी शुरूआत गरेको छ ।

आइतबार सम्पन्न खेलमा नेपालले गुजरातलाई ८ विकेटले पराजित गरेको हो ।

टस हारेर पहिले ब्याटिङको निम्तो पाएको गुजरातले १८.२ ओभरमा अलआउट हुनुअघि ९८ रनमात्र बनाउन सकेको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १५.२ ओभरमा केवल दुई विकेट गुमाएर विजयलक्ष्य पुरा गरेको हाे ।

नेपालका लागि अनिल साहले ३५ बलमा अविजित ३२ रनको योगदान गरे । कप्तान रोहित पौडेलले पनि २६ बलमा अविजित ३३ रन बनाए ।

ओपनर ब्याट्सम्यान कुशल भुर्तेलले १६ बलमा १७ रन बनाए । अर्का ओपनर आसिफ शेखले पनि १६ बलमा १६ रन जोडे । गुजरातका बलर तेजस पटेल र हेमांग पटेलले एक-एक विकेट लिए ।

त्यसअघि गुजरातलाई ठुलो लक्ष्य बनाउन नदिन नेपाली बलरले उत्कृष्ट प्रदर्शन गरेका थिए ।

नेपालका लागि गुलसन झा एक्लैले चार विकेट लिए । उनले १४औँ ओभरको तेस्रो र पाँचौँ बलमा लगातार दुई विकेट लिएका थिए ।

नेपालका लागि करण केसीले पनि तीन विकेट हात पारे । सोमपाल कामीले पनि एक विकेट लिए । गुजरातका दुई ब्याट्सम्यान भने रन आउट भएका थिए ।

गुजरातका लागि ओपनर ब्याट्सम्यान रुद्र पटेलले २३ रन बनाएका थिए । नेपालले दोस्रो खेल अप्रिल २ तारिखमा बरोडासँग खेल्नेछ ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१