काठमाडौं । चैत शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बुधबार देशभरी श्रद्धा, भक्ति र उल्लासपूर्ण रुपमा मनाइँदैछ ।
आज भगवान श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान रामचन्द्रका मठमन्दिरमा पूजापाठ गरिन्छ । विशेषगरी मधेश प्रदेशको जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका भक्तजनहरुको घुइँचो लागेको छ ।
यस्तै,बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपति आर्यघाट पारीको राममन्दिर, गोकर्णेश्वर नगरपालिका आरुबारीमा रहेको राम मन्दिरलगायतका मन्दिरमा पनि आज विशेष पूजा गरिन्छ ।
त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा राजा दशरथ र रानी कौशल्यावतीका सुपुत्रका रुपमा विष्णुको अवतार लिएर भगवान् श्रीरामको जन्म भएको बताइन्छ । अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान विष्णुको सातौं अवतारका रूपमा जन्म लिएको धार्मिम ग्रन्थहरुमा उल्लेख छ । श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । ठूलालाई आदर र सानालाई माया गर्ने आदर्श पुरुषका रुपमा रामले अयोध्यामा राज्य गरेकाले उनको शासनकाललाई अहिले पनि रामराज्यका रूपमा स्मरण गरिन्छ ।
आजको दिन व्रत बस्ने, रामगीता पाठ, अध्यात्म एवं भानुभक्तीय रामायण वाचन गर्नुका साथै भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ। यसो गर्नाले चिताएको कार्य पूरा हुने जनविस्वास छ ।
यो वर्ष दुईवटा रामनवमी परेको छ । पहिलो वैशाख ५ गते बुधबार (आज) र दोस्रो चैत २४ गते आइतबार परेको छ । अधिकमासका कारण २०८० सालको चैतेदशैँ र रामनवमी पर्व ०८१ सालमा परेको थियो । तिथि पर सर्दै आएको कारण ०८१ मा दुईवटा रामनवनी पर्व पर्न गएको हो ।
नेपाल सरकारले आज पर्वको अवसरमा देशभर सार्वजनिक बिदा दिएको छ । तर, यसै वर्षको आउँदो चैत २४ गते पर्ने रामनवमीको लागि भने गृह मन्त्रालयद्वारा माघ २८ गते प्रकाशित राजपत्रमा बिदा स्वीकृत छैन् । राजपत्रमा प्रकाशित सूचीअनुसार यो वर्ष झन्डै एक महिना अर्थात् २७ दिन पर्व बिदा दिइएको छ।