• २०८३ साउन १०
  • 2026 July 26, Sunday

आईपीएल : पञ्जाबलाइ ९ रनले पराजित गर्दै मुम्बईको तेस्रो जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आइपीएल) अन्तर्गत गएराती भएको खेलमा मुम्बई इण्डियन्स विजयी भएको छ । मोहालीमा भएको खेलमा मुम्बईले पञ्जाब किंग्सलाई नौ रनले हरायो ।

एक सय ९२ रनको लक्ष्य पछ्याएको पञ्जाबलाई एक सय ८३ रनमा अलआउट गर्दै मुम्बईले आईपीएलको यो सिजनमा तेस्रो जित निकालेको हो।

आशुतोश शर्माले विस्फोटक ब्याटिङ गरेपनि अन्तिम तीन ओभरमा मुम्बईका बलरले तीन विकेट लिँदा जित नजिक पुगेको पञ्जावले पराजय भोग्यो ।

७७ रन बनाउँदा ६ विकेट गुमाइसकेको पञ्जावका लागि आशुतोषले २८ बलमा दुई चौका र सात छक्का प्रहार गरेर ६१ रन बनाए । यस्तै शशांक सिंहले २५ बलमा ४१ रन बनाए ।

बलिङतर्फ जस्प्रित बुम्राह र जेराल्ड कोट्जीले तीन तीन विकेट लिए भने आकाश मधवाल, हार्दिक पाण्ड्या र श्रेयस गोपालले एक एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको मुम्बईले २० ओभरमा सात विकेट गुमाउँदै एक सय ९२ रन बनाएको थियो ।

यसका लागि सुर्यकुमार यादवले ५३ बलमा ७८ रन बनाए । उनले सात चौका र तीन छक्का प्रहार गरेका थिए । रोहित शर्माले ३६ र तिलक वर्माले अविजित ३४ रन बनाए ।

बलिङतर्फ हर्सल पटेलले तीन विकेट लिए भने साम करनले दुई तथा कागिसो रबाडाले एक विकेट हात पारे । जीतसँगै मुम्बई ६ अंक बनाउँदै तालिकाको सातौं स्थानमा उक्लिएको छ । समान खेलबाट चार अंक जोडेको पञ्जाव नवौं स्थानमा छ ।