प्रधानमन्त्री दाहाल र कतारी अमिर शेख थानीबीच दुईपक्षीय बैठक जारी

काठमाडौं । दुई दिने राजकीय नेपाल भ्रमणमा आएका कतारका राजा अमिर शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच आज भेटवार्ता भएको छ । बुधबार होटल सोल्टीमा दाहाल र थानीले पहिला वान टु वान भेटवार्ता गरेका छन् भने अहिले डेलिगेसन स्तरमा दुइपक्षीय बैठक भैरहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

कतारी अमिर र प्रधानमन्त्री दाहाल नेतृत्वको द्विदेशीय प्रतिनिधिमण्डलबीचको वार्तामा नेपाल–कतार सम्बन्धका समग्र पक्षका साथै क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बैठकपछि द्विपक्षीय सम्झौता र समझदारी पत्रमा हस्ताक्षर हुने कार्यक्रम छ । नेपाल र कतारबीचको युवा तथा खेलकुद सहयोग, उच्च शिक्षा तथा वैज्ञानिक अनुसन्धानका क्षेत्रमा सहयोगस लगायत विविध पाँच समझदारीपत्रमा हस्ताक्षर हुने जनाइएको छ ।

होटल सोल्टीको कार्यक्रमपछि प्रधानमन्त्री पुष्पकमल दाहालले होटल द्वारिकामा आयोजना गरेको दिवा भोजमा कतारको टोली सहभागी भएर आजै दिउँसो स्वदेश फर्किने कार्यक्रम छ।

राष्ट्रपति रामचन्द्र पौडेलको निमन्त्रणामा दुईदिने राजकीय भ्रमणका लागि कतारका राजा भ्रमण दलका सदस्यहरुसहित मंगलबार दिउँसो काठमाडौं आएका हुन् । शेख थानीले मंगलबार साँझ राष्ट्रपति पौडेलसँग भेटवार्ता गरे । थानी मंगलाबर राष्ट्रपति पौडेलले शितल निवासमा आयोजन गरेको रात्रिभोजमा सहभागी भएका थिए ।

 

© 2024 All right reserved Site By : Himal Creation || सूचना विभाग दर्ता नं : ४१२१–२०८०/२०८१