• २०८३ असार १६
  • 2026 June 30, Tuesday

विधेयकको कामहरु कमजोर भएको छ : प्रमुख सचेतक लेखक

रमेश लेखकको स्विकारोक्ति : ‘कांग्रेस सत्तामै हुदाँ पनि विधेयकको काममा कमजोरी भयो’

काठमाडौं । नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस सरकारमा भएको बेला पनि विधेयकको काममा कमजोरी भएको स्विकार गरेका छन् ।

बुधबार सिंहदरबारमा संसदीय मामिला पत्रकारहरुसँगको छलफलमा उनले आफूहरु सरकारदेखि प्रतिपक्षमा पुग्दा समेत विधेयक निर्माणका सन्दर्भमा कमजोरी यथावत रहेको बताएका हुन् ।

उनले भने, ‘मैले सार्वजनिक रुपमा यो कुरा स्विकार गर्न कुनै कठिनाइ छैन । भएको कुरालाई त स्विकार नगरि भयो त । हामी सरकारमा हुँदा पनि विधेयनको काममा कमजोरी भएकै हो । हामी अहिले प्रतिपक्षमा छौं । त्यो कमजोरी यथावत छ । कुनै न कुनै रुपले विधेयकको काम कमजोर भएको छ भन्ने कुरामा हामीले अनुभुति गर्नुपर्छ ।’

उनले नेपाली कांग्रेस सरकारमा हुँदा समेत अगाडि बढाउनुपर्ने केही विधेयक अगाडि बढाउन नसकेको भन्दै दुःख पनि व्यक्त गरेका छन् ।संसद प्रभावकारी रुपमा संचालन हुन नसके व्यवस्थामाथि नै खतरा हुने लेखकको भनाइ थियो ।

उनले भने, ‘संसद प्रभावकारी रुपमा संचालन भएन भने यो व्यवस्थामा पनि जटिलताहरु थपिन सक्छन् । संसदको उपस्थितिमै समस्या रहेको छ । गणपुरक संख्या नपुगेको कारण संसदको बैठक अन्त्य वा स्थगन भयो भने त्यसले के सन्देश जान्छ ?’