• २०८३ असार १६
  • 2026 June 30, Tuesday

कांग्रेस संसदीय दलको बैठक स्थगित

काठमाडौं । शुक्रबारदेखि सुरु हुने संसद्को बजेट अधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक स्थगित भएको छ ।

दिउँसो २ बजे संघीय संसद् भवन नयाँ वानेश्वरको ल्होत्से हलमा बस्ने भनिएको बैठक कांग्रेस पूर्वकेन्द्रीय सदस्य एवं संविधानसभा सदस्य सूर्यमान गुरुङको निधनका कारण स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ ।विहीबार विहान कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारले एक सूचना जारी गर्दै बैंठक स्थगित भएको जनाएको छ ।

‘आज मिति २०८१ बैशाख २७ गते दिनको १ः०० बजे नेपाली कांग्रेस संसदीय दल कार्यसमिति र दिनको २ः०० नेपाली कांग्रेस संसदीय दलको बैठक नयाँ बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हालमा बस्ने भनिएकोमा पूर्वमन्त्री, नेपाली कांग्रेसका पूर्व केन्द्रीय सदस्य एवं संविधान सभा सदस्य माननीय सूर्यमान गुरुङको २०८१ बैशाख २५ गते असामयीक निधन भई आज २०८१ बैशाख २७ गते अन्त्येष्टि गरिने हुँदा नेपाली कांग्रेस संसदीय दल कार्यसमितिको बैठक २०८१ बैशाख २८ गते विहान ८ः०० बजे र नेपाली कांग्रेस संसदीय दलको बैठक २०८१ बैशाख २८ गते विहान ८ः३० बजे बानेश्वर स्थित संघीय संसद भवन ल्होत्से हलमा बस्नेगरी स्थगित भएको जानकारी गराइन्छ,’ जारी सूचनामा भनिएको छ ।

बैठकमा बजेट अधिवेशनको तयारी, सहकारीको अनियमितता प्रकरणमा संसदीय छानविन समिति गठन लगायत विषयहरुमा छलफल गर्ने कांग्रेसको तयारी थियो ।