विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । योसहित प्रदेश सरकारमा उनी तेस्राेपटक मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
एमाले र माओवादीका ५२ जना प्रदेशसभा सांसदको शरीर उपस्थितिमा हस्ताक्षर गरेपछि प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् । कार्की संविधानको धारा १६८ (५) अन्तर्गत नियुक्त भएका हुन् ।
असअघि उनी संविधानको धारा १६८ (२) अन्तर्गत २०७९ पुस २४ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । एमाले, माओवादी, नेकपा एस र जसपाको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका कार्की २०७९ असार १५ गते विश्वासको पाउन नसकेपछि पदमुक्त भएका थिए ।
विश्वासको मत लिन नसकेर पदमुक्त भएका कार्की ७० दिनपछि अदालतको परमादेशबाट पुन: मुख्यमन्त्री बनेका थिए ।
संविधानको धारा १६८ (३) अन्तर्गत मुख्यमन्त्री नियुक्त भएका कार्कीले विश्वासको मत लिन नसक्ने अवस्था आएपछि असोज २२ गते राजीनामा दिएका थिए ।
पछिल्लाे निर्वाचनपछि कोशीमा योसहित ६ पटक सरकार हेरफेर भएको छ ।
यसअघि २ पटक कांग्रेसका उद्धव थापा मुख्यमन्त्री बनिसकेका छन् । कांग्रेसकै केदार कार्की १६८ (५) अन्तर्गत असोज २७ मा मुख्यमन्त्री नियुक्त भएका थिए ।