• २०८३ असार १६
  • 2026 June 30, Tuesday

सभामुख घिमिरेलाई गगनको प्रश्न, आज सदनमा भएको दृश्यको जिम्मा सरकारले लिने कि नलिने ?

काठमाडौं । प्रतिनिधि सभा बैठकमा सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकाले संसदीय समिति नबनेसम्म प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सदन चल्न नदिने बताएको छ ।

शुक्रवार सुरु भएको बैठकको बर्खे अधिवेशनको पहिलो बैठकमा कांग्रेस महामन्त्री गगन थापाले कांग्रेस संसद चल्न दिने कुरामा गम्भीर भएको उल्लेख गर्दै छानविन समिति नबनेसम्म संसद नचले त्यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

उनले भने, ‘सभामुखज्यू, म यहाँ उभिएर उठेका विषयमा कुरा राख्न चाहन्थें । हेलिकप्टर किन्ने योजना कहाँ पुग्यो भनेर सोध्न नि चाहान्थे । बाढी पहिरोको नियन्त्रणको बारेमा सोध्न नि चाहान्थे । दलहरु फोडेर उथलपुथल गर्ने काम कति बाँकी छ भनेर नि सोध्न चाहान्थे । तर यो प्रश्नमा उठाइरहँदा सांसदको घाँटी निमोठिदै छ भन्ने महसुश भइरहेको छ,’ उनले अगाडि भने,‘गृह मन्त्रीजीले केही दिन अघि संसदबाहिर उभिएर संसद चार वर्ष बन्द गरेपनि हुन्छ भन्नुभएको थियो । आज सदनमा त्यस्तै किसिमको दृश्य बन्दैछ । यसको जिम्मा सरकारले लिने कि नलिने ? हामीलाई हल्का नठानियोस् । नेपाली कांग्रेस पार्टी संसद चल्नुपर्छ भन्ने कुरामा गम्भीर छ । कांग्रेसको एउटा मात्र माग हो । संसदीय छानबिन बन्नुपर्दछ ।’

संसदको अवरोधको जिम्मा पनि कांग्रेसले नलिने उल्लेख गर्दै उनले यसको जिम्मा सरकारले लिनुपर्ने बताए ।

थापाले आफ्ना कुरा राखेपछि सभामुखले १५ मिनेटका लागि संसद बैठक स्थगित गरेको सूचना सुनाएका छन् ।