• २०८३ जेठ २१
  • 2026 June 04, Thursday

आर्थिक अपराधको मतियार सानीमा बैंकमाथि अनुगमन गर्दै राष्ट्र बैंक, हुनसक्छ लाइसेन्स खारेजीसम्मको कारबाही !

काठमाडौं । केवाईसी अपडेटमा सानीमा बैंकले गरेको लापरवाहीमा राष्ट्र बैंकले चासो देखाएको छ ।

उदयपुरका नारायणबहादुर राईको हराएको नागरिकता प्रयोग गरेर रामेछापका राजन श्रेष्ठले सानीमा बैंकमा खाता खोलि करिब तीन करोड रुपैयाँ दुरुपयोग गरेका थिए । यो केसमा बैंकले खाता खोल्ने व्यक्तिले दिएको डकुमेन्ट प्रमाणीकरण नगरी केवाइसी फर्म र नागरिकतामा रहेको फोटो अलग–अलग हुँदासमेत खाता खोल्न दिएर कारोबार गराएको थियो ।

आर्थिक अपराधको केन्द्र सानिमा बैंक, अलग–अलग व्यक्तिकाे नागरिकता र फाेटाेबाट पनि खुल्छ खाता !

श्रेष्ठले राईको हराएको नागरिकता प्रयोग गरेर खाता खोलेका थिए तर केवाईसी फर्मममा भने श्रेष्ठकै फोटो प्रयोग भएको थियो । यतिसम्म गर्दा पनि बैंकले खाता खोलिदिएर श्रेष्ठको अपराध कर्ममा सहयोग पुर्याएको थियो । अहिले यही विषयमा राष्ट्र बैंकले चासो देखाएको हो ।

राष्ट्र बैंकका प्रवक्ता गुणाकर भट्टका अनुसार जुनसुकै बैंकले गरेको गल्ती कमजोरीमा राष्ट्र बैंकको बैंक सुपरिवेक्षण विभागले निरीक्षण गर्छ । यसबारे पनि सुपरीवेक्षण विभागले अध्ययन गरिरहेको छ ।

नेपाल राष्ट्र बैंकबाट इजाजत लिई सञ्चालनमा रहेका बैंक तथा वित्तीय संस्थाहरुले आफ्नो काम कारबाही प्रचलित ऐन, नियम, निर्देशन तथा सिद्धान्त बमोजिम गरेरनगरेको सम्बन्धमा अध्ययन, छलफल तथा विश्लेषण गरी यकिन गर्ने कार्य नै सुपरिवेक्षण हो ।

हराएको नागरिकता प्रयोगगरी करोडौं ठगी, मतियार बन्दै बैंक [भिडियो सहित]

प्रवक्ता भट्ट भन्छन् ‘केवाइसी भनेको महत्वपूर्ण कागज हो । यसको पूर्ण पालना हुनुपर्छ, यसमा कतिपय संवेदनशील सूचना हुन्छ यसको दुरुपयोग नहोस् । गोपनीयता कायम रहोस् भनेर हामी सचेत हुनपर्छ ।’ यसमा असंलग्न व्यक्तिहरु पसेर पैसाको कारोबार नगरुन् भनेर नै केवाईसी अपडेट गर्नुपर्ने हो । गल्ती गर्ने एउटामात्र होइन जुनसुकै बैंक कारबाहीको दायरामा आउने उनले बताए ।

नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोस्रो संशोधन) अनुसार बैंकका नियम उल्लंघन गर्नेलाई सचेत गराउनेदेखि इजाजतपत्र निलम्बन वा रद्ध गर्ने सम्मको व्यवस्था छ ।